मुस्ताङ जिल्ला कारागार शाखाको अनुगमन, सुधारका लागि पहल
एभरेस्ट आवाज डटकम । २०८२ वैशाख २३ गते
मुस्ताङ । मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अगुवाइमा मुस्ताङस्थित जिल्ला कारागार शाखाको अनुगमन गरिएको छ।
घरपझोङ गाउँपालिका–१ मा अवस्थित कारागारको अनुगमन इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, डिएसपी छिरिङ किप्पा लामा, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेललगायतको टोलीले संयुक्त रूपमा गरेका हुन्।
२५ जनाको क्षमताको कारागारमा हाल नौ जना कैदी र तीन जना थुनुवा गरी जम्मा १२ जना रहेको जानकारी निमित्त जेलर लालबाबु सहनीले जानकारी दिए।
अनुगमनका क्रममा कैदीबन्दीहरूले कारागारको पर्खाल र सुरक्षाको कमजोरीका कारण शौचालय जाने बाहेक अन्य बाह्य दृश्यसमेत हेर्न नपाउने गुनासो गरेका थिए। कारागारमा बलात्कार र हत्या अभियोगमा सजाय पाएका कैदी बढी रहेको बताइएको छ। हाल कारागारमा सिलाइकटाइ तालिम सञ्चालनमा रहेको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले कारागार सुधारका लागि सम्बन्धित निकायमा निरन्तर पहल भइरहेको जानकारी दिए ।
कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या र अवस्थाका आधारमा कैदीबन्दीलाई केही समय कारागार भवन बाहिर हिँडडुल गर्न दिइने व्यवस्था मिलाइने डिएसपी छिरिङ किप्पा लामाले बताए ।
अनुगमन टोलीले कारागारको भौतिक पूर्वाधार सुधार तथा मानव अधिकार सुनिश्चितताका लागि आवश्यक सुझाव समेत संकलन गरेको इन्सेक गण्डकीका संयोजक शिवप्रसाद खकुरेलले जानकारी दिए ।
HUMAN RIGHTS NEWS PORTAL






