मौनअवधिमै आर्थिक चलखेल भयो, निर्वाचन पद्धती सुधार गर्न जोड
सेतोखरी डटकम । २०७९ जेठ ३१ गते
नेपालगन्ज ३१ जेठ : निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचन पद्धती सुधारको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले औँल्याएकाछन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जले आयोजना गरेको स्थानीय तहको निर्वाचन–२०७९ पर्यवेक्षण तथा अनुभव आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विशेषतः व्यवस्थापकीय पक्षमा कमजोरी औल्याउदै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा अनुभव साटासाट गर्ने अधिकांश वक्ताहरुले निर्वाचन अवधिमा कर्मचारी खटनपटनमा कमजोरी भएको र सुरक्षा निकायबाट समेत आशातीत भूमिका निर्वाह हुन नसकेको भन्दै निर्वाचन पद्धती सुधार गर्न सुझाएका थिए । कर्मचारीहरुले निष्पक्ष भूमिका निभाउन सकेनन्, मौन अवधिमा समेत निर्वाचनको गरिमालाई नै चुनौती दिइएकाले उनीहरुले मौन अवधि आवश्यक नरहेको तर्क राखे । इन्सेक नेपालगन्जका संयोजक भोला महतले यसपटकको स्थानीय तह निर्वाचन विगतका निर्वाचन भन्दा तुलनात्मकरुपमा भयरहित, शान्तिपूर्ण उत्साहजनक वातावरणमा सम्पन्न भएको बताए । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपन्द्र केसीले मुख्य निर्वाचन अधिकृत र अन्य निर्वाचन अधिकृतबिच छलफल हुन नसक्दा केही समस्या सृजना भए पनि आगामी निर्वाचनहरूमा यसले पृष्ठपोषण प्रदान गर्ने उनले बताए ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झङ्करबहादुर रावलले निर्वाचन आयोगले पनि सिमित स्रोत साधनको परिचालन गरी निर्वाचन कार्य सम्पन्न गरेको बताउँदै यसको मूल्यांकन गरी आगामि निर्वाचनहरूमा सुधार गर्नु पर्ने पक्षमा विशेष जोड दिनु पर्ने बताए । जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले निर्वाचनको समयमा केही स्थनीय प्रहरीबाट त्रुटी भए पनि त्यसलाई सच्याउने काम भएको बताए । जिल्ला निर्वाचन अधिकारी रमा पन्तले निर्वाचान कार्यालयबाट व्यवस्थापनमा केही कमी भएको स्वीर्कादै आगामी दिनमा त्यसलाई सच्याएर अगाडि बढ्ने बताइन् । नेकपा एमालेका अध्यक्ष किस्मतकुमार कक्षपति निर्वाचन स्वच्छ भयरहीत बनाउने हो भने निर्वाचन प्रणाली परिर्वतन गर्नुपर्ने धारणा राखेका थिए । नेपाली काँग्रेसको सचिव शुधान्सु कोइरालाले निर्वाचनमा अशक्त वृद्धा र बिरामीहरू मतदान प्रक्रियामा सहभागि गराउन स्वन्त्र निकायलाई परिचालन गर्नु पर्ने बताए । उनले मौन अवधिमा बढी आर्थिक चलखेल भएका भन्दै यसको नियमन गर्न नसकिएका कारण वडागत निर्वाचनमा मतपरिणाम आशातित नआएको जिकिर गरे ।
नेकपा एमालेका सचिव रत्न खत्रीले विगतका निर्वाचनमा भन्दा यस निर्वाचनमा मतदाताको सक्रियता बढेको पाइएको बताए । उनले राजनीतिक दलहरुबाटै निर्वाचन आचार संहिता उल्लङ्घन हुदाँ यस विषयमा स्वयम दलका जिम्मेवार ब्यक्ति गम्भीर हुनुपर्ने बताए । राप्रपीकी नेतृ इन्दिरा शाहीले निर्वाचनलाई अझ विश्वसनीय र ब्यवस्थित बनाउन जरुरी रहेको तर्क राखिन् । उनले निर्वाचनका बेला ठूलो रकमको मोलमोलाई हुँदा मतदाता त्यसबाट प्रभावित भइ स्वतन्त्ररुपमा मताधिकार प्रयोग नभएको दावि गरिन् । कार्यक्रममा अधिकारकर्मी तथा निर्वाचन पर्यवेक्षकको भूमिका निर्वाह गरेका अधिवक्ता पदम पाण्डेले कर्मचारी खटनपटन र व्यवस्थापनमा ध्यान नदिएको, मतदाता शिक्षा प्रभावकारी नभएको, बालबालिकाहरूको प्रयोग भएको अनुगमनका क्रमा पाइएको बताए । उनले राजनीतिक दलहरू यस विषयमा सम्वेदनशील हुनु पर्ने धारणा राखे । यसैगरी अधिकारकर्मी बसन्त गौतम, कृष्णमुरारी प्रसाद भट्ट, प्रभात ठकुरी, कमला पत्न, पत्रकार कमल डाँगीले निर्वाचन पर्यवेक्षण, अनुगमनका क्रममा आफूले जानकारी पाएका र देखेका विषयहरू आदान प्रदान गरेका थिए । उनीहरूले निर्वाचन प्रक्रियाका बारेमा सूचनाको प्रभावकारी सम्प्रेषण नभएको, मतदाता शिक्षा कमी रहेको, मतदाता परिचय पत्र वितरणमा समस्या रहेको, क्रम संख्या अनुसार मतदाता नामावली नभएको लगायतका कमी कमजोरी औल्याएका थिए । उनीहरुले निर्वाचनका बेला सबै पक्षबाट भएका कमी–कमजोरीलाई सच्याएर अब आगामी निर्वाचनलाई थप व्यवस्थित बनाउनुपर्ने पर्नेमा जोड दिएका थिए ।