राजकुमार चेपाङ मृत्यु प्रकरण: दोषीलाई कारबाही गर्न अधिकारकर्मीको माग

–दिपेन्द्र अधिकारी

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटपिटको कारणबाट मृत्यु भएका चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको घटनाका सम्बन्धमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । इन्सेक, एडभोकेसी फोरम र थर्ड एलायन्सको अगुवाइमा संयुक्तरुपमा स्थलगत अध्ययन भएको थियो ।

अनुगमन टोलीले सेनाकै कुटाइबाट राजकुमारको मृत्यु भएको, आर्थिक अभावले समयमै उनको उपचार हुन नसकेको र भरतपुर अस्पतालका चिकित्सकहरुले अन्य घाइते पीडितहरुको स्वास्थ्य जाँचमा लापर्बाही गरेको निष्कर्ष निकालेको छ । यस्तै, घटनामा दोषी देखिएकाहरुलाई नियमित प्रणालीबाटै कानुनी कारबाही गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।

पीडितहरुका अनुसार सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषहरुलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरुलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको थियो । साउन १ गते यातना पाएपछि घर फर्किने बेलामा नै राजकुमार हिँड्न नसक्ने भएपछि दुई जनाले सहारा दिएर घर पु¥याएको पीडित सन्तोष तामाङले बताए ।

स्थलगत अध्ययन प्रतिवेदन इन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतम र एडभोकेसी फोरमका निर्देशक ओमप्रकाश सेन ठकुरीद्वारा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेललाई हस्तान्तरण गरिएसँगै सार्वजनिक गरिएको हो ।

प्रतिवेदन ग्रहण गर्दै सभापति पोखरेलले निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले आफ्नो सीमा नाघेर यातना दिनु मानवअधिकारको उल्लङ्घन भएको बताए । उनले यस किसिमका गैरन्यायिक घटनाहरु भविष्यमा हुन नदिन दोषीहरुमाथि कारबाही र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी खरेललाई पनि उक्त स्थलगत प्रतिवेदन बुझाइएको छ । प्रतिवेदन बुझ्दै निर्देशक खरेलले पीडितलाई न्याय र पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी सम्बन्धित निकायलाई आयोगले निर्देशन दिने बताए । गैरन्यायिक हत्यामा संलग्नहरुमाथि कडाभन्दा कडा कारबाही गरेमात्रै दण्डहीनताको अन्त्य हुने उनको भनाइ छ ।

राप्ती नगरपालिका वडा नम्बर–२ का राजकुमार चेपाङसहित सात जना स्थानीयहरु ०७७ साउन १ गते घोँगी र निगुरो टिप्न निकुञ्जभित्र प्रवेश गरेको आरोपमा निकुञ्जको सुरक्षार्थ खटिएका सेनाले उनीहरुलाई नियन्त्रणमा लिई कुटपिट गरेको घटनाको विषयमा तयार पारिएको सो प्रतिवेदन सरोकारवाला निकायमा हस्तान्तरण गरी सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा मृतक राजकुमारका बुबा विष्णुलाल, आमा आइतीमाया र श्रीमती रिपुमाया, सोही घटनामा सेनाबाट यातना पाएका अन्य चार जना पीडितहरुका साथै स्थानीय जनप्रतिनिधिहरु, प्रहरी, सेना, मृतकको उपचारमा संलग्न स्वास्थ्यकर्मी र अधिकारकर्मीहरुको भनाइ समेटिएको छ ।

source: https://echitwanpost.com/115050/2020091907/34/05/