‘राज्यले दिएको अधिकार नागरिकले उपभोग गर्न पाएनन्’

बुधवार, फाल्गुन ७, २०७६सेतोखरी
 

नेपालगन्ज : राज्यले संविधानमा नै सुरक्षित गरेको मानवअधिकार नागरिकले उपभोग गर्न नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र क्षेत्रीय कार्यालयले बाँकेमा मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा सहभागीले नागरिकले मौलिक अधिकारसमेत उपभोग गर्न नपाएको गुनासो गरेका हुन् ।

कार्यक्रमका सहभागीले संविधानले अधिकार दिने तर, कार्यान्वयन गराउने निकायले नै त्यसको उपयोग हुन नदिएको बताएका छन् । विश्वको परिप्रेक्षमा नेपालमा मानवअधिकार उपभोगको अवस्था नाजुक रहेको समेत बताइएको छ । साथै राजनीतिक अस्थीरता र विधिको शासनको अभावका कारण मानवअधिकार उल्लंघन रोकिन नसकेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल बार एशोसियसनका केन्द्रिय वरीष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले सरकारको रवैया र मानवअधिकार उल्लङ्घन गर्ने संस्कारको विकास भएको बताए । देशमा विधिको शासन चलेको अवस्था छैन, सबै ठाउँमा आफ्नो स्वार्थ अनुसार कानूनलाई दुरुपयोग गरेका छन् ।’

उनले अगाडी थपे–‘पञ्चायतकाल र संकटकालमा यस्तो भएको थिएन । वर्तमान सरकार मनोमानि तवरले अघि बढिरहेको अवस्थामा नागरिकले सोचे अनुसारको सेवा कुनैपनि निकायबाट पाउन नसक्दा राज्यका निकायमाथि नै निराशा पलाएको उल्लेख गरे ।

यस्तै, राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले मानवअधिकार कार्यान्वयनको अवस्थामा केही सुधार भएपनि अझै वास्तविक पीडितहरुले न्यायको आभास पाउन नसकेको बताए । उनले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका पीडितहरु अँझै न्यायको आशामा भौंतारिरहेको बताए ।

चापागाईले इन्सेकले मानवअधिकार रक्षाका लागि काम गर्दै आएकोमा प्रशंसा गर्दै नागरिकलाई न्याय दिलाउने कार्यमा निरन्तर लाग्न सुझाव दिए ।

उच्च अदालत बार तुलसीपुर, नेपालगन्जका अध्यक्ष विकास आचार्यले धेरै जसो गैर पीडकहरुले सजाय पाउने र पीडकहरु खुलेयाम घुम्दा दण्डहिनता मौलाएको बताउदै उनले समय सापेक्ष वर्ष पुस्तकलाई परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए ।

इन्सेकका साधारण सदस्य कृष्णमुरारी भट्टको सभापतित्वमा भएको कार्यक्रममा वर्ष पुस्तक सार्वजनिक गरिएको थियो । वर्ष पुस्तकमा देशभरीमा सन् २०१९ मा भएका मानवअधिकार उलंघनका घटनाहरु समावेश गरिएको छ ।

इन्सेकले बुधबार ७ वटै प्रदेशमा पुस्तक सार्वजनिक गरेको छ । निरन्तर २८ औं संस्करणसम्म आइपुगेको पुस्तकले राज्यका निकायलाई समेत तथ्यांक संकलनमा सहयोग पु¥याएको इन्सेक क्षेत्रीय प्रमुख भोला महतले बताए ।

यस्तै वर्ष पुस्तक सार्वजनिक कायक्रममै उत्कृष्ट काम गर्ने इन्सेकका गुल्मी प्रतिनिधि टोपलाल अर्याललाई नगद ७ हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको छ ।

प्रकाशित मिति: बुधवार, फाल्गुन ७, २०७६, ०९:०२:००

source: https://www.setokhari.com/desh/2633