राष्ट्रिय बाल दिवसको अवसरमा जनचेतना मूलक सडक नाटक प्रदर्शन

कैलाली खबर डटकम । २०८१ भदौ ३१ गते

कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिका–२ गोकुलपुर स्थित लक्ष्मी माध्यमिक विद्यालयमा जनचेतना मूलक सडक नाटक प्रदर्शनी गरिएको छ । इन्सेकको सहयोगमा विद्यालयमा गठित बाल अधिकार चेतना समूहले बाल विवाह रोकथामको लागी सरोकारवालाको भूमिका सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन गरेका थिए । राष्ट्रिय बाल दिवसको अवसरमा बाल अधिकार चेतना समूहले जनचेतना मूलक सडक नाटक प्रदर्शन गरेको हो । 

सडक नाटकमा विद्यालय जाने उमेरमा हुने प्रेम सम्बन्ध, प्रेम सम्बन्धले ती बालबालिकाको शिक्षामा परेको नकारात्मक असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दीर्घकालीन असर र बाल विवाह रोकथाममा सरोकारवालाको भूमिका कस्तो रहन्छ भन्ने बारेमा सन्देश दिइएको थियो ।

बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा सडक नाटक मार्फत जानकारी दिएको इन्सेक कञ्चनपुर जिल्लाका सहजकर्ता कैलाश पनेरुले जानकारी दिए ।

राष्ट्रिय बाल दिवस भाद्र २८ गते भएता पनि बिभित कारणले गर्दा आज विद्यालयमा जनचेतना मूलक सडक नाटक प्रदर्शन गरी मनाइएको बाल अधिकार चेतना समूहले जनाएको छ ।

बाल अधिकार चेतना समूहका अध्यक्ष हेमा कार्कीको सभाध्यक्षमा भएको जनचेतना मूलक सडक नाटक कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक वीरेन्द्र सिंह भण्डारी रहेका थिए । कार्यक्रममा बाल अधिकार चेतना समूह पदाधिकारी तथा सदस्यहरू, इन्सेकका प्रतिनिधि, शिक्षक, शिक्षिका र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Source: https://www.kailalikhabar.com/news/11687