राष्ट्रिय महिला आयोग र इन्सेकको संयुक्त टिमले महोत्तरी जिल्लाको महिला हिंसा तथा मानव अधिकारको अवस्था बारे अनुगमन
शिरीष न्यूज । २०७८ भदौ १९ गते
महोत्तरी – राष्ट्रिय महिला आयोग र इन्सेकको संयुक्त टिमले महोत्तरी जिल्लाको महिला हिंसा तथा मानव अधिकारको अवस्था बारे अनुगमन गरेको छ । राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरे, इन्सेक प्रदेश २ संयोजक राजु पासवान, इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह सम्मितलित टोलीले अनुगमनको क्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, एसपी दिनेश आचार्य, ओसीएससीका इन्चार्ज चन्द्रिका थापा सहित जिल्लाका विभिन्न संस्थाका प्रतिनिधि, नागरीक समाजका अगुवा र महिलाअधिकारकर्मीहरु संग छलफल गरी जिल्लाको अवस्था बारे जानकारी लिएका थिए।
सो क्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लामा महिला हिंसाको घटनामा वृद्धि हुनुमा जनचेतना र शिक्षाको स्तरमा कमि रहेको बताउनुभयो । उहाँले मुश्लिम समुदायहरुको बाहुल्य रहेको सम्सी गाउँपालिका, गौशला नगरपालिका, महोत्तरी गाउँपालिका लगायतको क्षेत्रमा बालिकाहरु उच्च शिक्षामा हासिल गर्नबाट बञ्चित रहेको बताउनुभयो । उहाँले महिला अधिकार, स्वास्थ्य तथा प्रजननको अधिकार जस्ता अभिमुखिकरण कार्यक्रमहरु वडा स्तरबाट संचालन गर्नु पर्ने आवश्यक्ता रहेको बताउनुभयो।
त्यसैगरी महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले खुला सिमाका कारण अपराधिक घटनाहरु नियन्त्रण चुनौती रहेको बताउनुभयो । उहाँले पछिल्लो पटक जिल्लामा देखिएका विभिन्न किसिमको फौजदारी अपराधहरु बलात्कार, हत्या जस्ता घटनाहरुमा पनि गाउँ मै पञ्चायत बसेर मिलापत्र गर्ने कोसिस गर्ने र नमिले मात्र प्रहरी प्रशासनमा आउने गरेको हुँदा समस्या उत्पन्न हुने गरेको बताउनुभयो ।
एसपी आचार्यले पछिल्लो समयमा आएर टिनएर्जस् केटाकेटीहरुमा भागेर विहे गर्ने र अभिभावकले खोजेर ल्याउँदा वा भागे पछि अपहरण, बलात्कारको मुद्दा दर्ता गर्ने क्रम बढेको हुँदा स्कूलहरुमा गएर जनचेतना मुलक तालिम तथा अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्नु पर्ने आवश्यक्ता रहेको बताउनुभयो ।
त्यसैगरी स्थानीय तहमा व्यवस्था गरिएको न्यायिक समितिले आफ्नो काम, कर्तव्य र अधिकारबारे जानकार नभएर गाउँ घरमा घट्ने विभिन्न किसिमको सानो तिनो झै झगडाका घटनाहरु प्रहरी प्रशासन मै जाने क्रम नरोकिएको नागरीक समाजका अगुवाहरुले बताए ।
शिक्षासम्बन्धी मुख्य समस्यामा कोभिड-१९ को कारण हाल विद्यालयहरु बन्द हुँदा विद्यार्थीको शिक्षण सिकाइ प्रभावित भएको ,बालविवाहको कारण विद्यालय छाड्ने दर बढी भएको, स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि नभएको, स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने सेवाको बारेमा सबै नागरिकले जानकारी नपाएको, बालबालिकामा कुपोषणसम्बन्धी समस्या रहेको ,कति प्रकारको औषधि निःशुल्क पाइन्छ भन्ने बारेमा नागरिकलाई जानकारी नभएको जस्ता समस्याहरु जिल्लामा देखिएको सरोकारबालाहरुबाट जानकारी गराइएको थियो ।
ग्रामिण स्तरका अभिभावहरु खास गरी महिलाहरुको जनचेतना अभिवृद्धिको साथै आयआर्जन सम्बन्धी कार्यक्रम तथा आयोजनाहरु संचालन गर्नु पर्ने आवश्यक्ता रहेको महिला अधिकारकर्मी रेखा झाले बताउनुभयो । जिल्ला स्थित सरोकारबालाहरुलाई राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरेले निकट भविष्यमा प्रदेश २ मा आयोगको कार्यालय स्थापना गरिने बताउँदै उहाँले ग्रामिण महिलाहरुको जनचेतना अभिवृद्धि सम्बन्धी क्रियाकलापहरु संचालनको तयारी आयोगले गरेको जानकारी दिनुभयो ।