रेक्चाको पानीमा अदालतको चासो प्रदेश, कर्णाली
गोरखापत्र अनलाइन डटकम । २०८० जेठ ५ गते
सुर्खेत, जेठ ५ गते। उच्च अदालत सुर्खेतले चौकुने गाउँपालिका–५ रेक्चाका स्थानीयलाई खानेपानीको व्यवस्था मिलाउन आदेश दिएको छ । सो स्थानमा प्राविधिक समेतको सहयोगमा दैनिक न्यूनतम खानेपानीको परिपूर्ति गर्न के कस्तो प्रवन्ध गर्न सकिन्छ तयार गरी लिखित जवाफसाथ प्रतिवेदन पठाउन विपक्षीका नाममा अदालतले आदेश दिएपछि गत साता रेक्चामा प्राविधिकको टोलीले अनुगमन गरेको छ । वेदखोला लिफ्ट खानेपानी आयोजनाको विषयमा प्राविधिक टोलीले रेक्चामा स्थलगत अनुगमन गरेको हो । जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनारका अनुसार रेक्चाका स्थानीयले वर्षौंदेखि खानेपानीको समस्या भोगेको विषयमा ०७९ चैत २ गते इन्सेकको अगुवाइमा स्थलगत अनुगमन भएको थियो । स्थलगत अनुगमनपछि रेक्चावासीले शुद्ध खानेपानी नपाएको विषयमा सरोकारवाला निकायसँग पहल गरेको थियो । यस विषयमा सरोकारवाला निकायबाट सुनुवाइ नभएपछि प्रतिवेदनका आधारमा अधिवक्ता प्रकाशबाबु ऐडी र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका कार्यव्रmम अधिकृत परिस्कृत पौडेलले उच्च अदालत, सुर्खेतमा गत वैशाख २७ गते रिट दायर गर्नुभएको थियो । रिट निवेदनमा खडेरी सुरु हुने बित्तिकै रेक्चावासीले कि दूषित पानी पिउनु पर्ने कि पानीकै कारण काकाकुल भई गाउँबाट विस्थापित हुनुपर्ने अवस्था रहेको रिटमा जिकिर गरिएको थियो ।
सोही रिट निवेदनका आधारमा उच्च अदालत सुर्खेतले वैशाख २८ गते विपक्षीलाई १५ दिनभित्र प्राविधिक समेतको सहयोगमा दैनिक न्यूनतम खानेपानीको परिपूर्ति गर्न के कस्तो प्रवन्ध गर्न सकिन्छ तयार गरी लिखित जवाफसाथ प्रतिवेदन पठाउन विपक्षीका नाममा अदालतले आदेश गरेको थियो । यता सो स्थानको अनुगमनपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका प्रमुख देवेन्द्र झाले उक्त स्थानमा तत्काल खानेपानीको समस्या समाधानका लागि सङ्घीय सरकारसँग सोलार लिफ्टका लागि पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो स्थानमा बजेट अभावका कारण खानेपानी आयोजना चार वर्षदेखि अलपत्र छ । आयोजनाको ७५ प्रतिशत काम पूरा भइसकेको छ । वेदखोलामा रहेको मूलको पानी रेक्चासम्म पु-याउने योजना अनुरूप घोक्रेबाट लिफ्टिङ गरी पानी लैजाने कार्यका लागि सङ्घीय तथा स्थानीय सरकारबाट एक करोड २६ लाख बजेट निकासा भई कार्य सुरु भएको थियो । उक्त योजनाका लागि ल्याइएका बिजुलीका तार, ट्रान्समिटर र खानेपानीका पाइप रेक्चामा यत्रतत्र छरिएको अवस्थामा छन् । ट्रान्समिटर आयोजनाको मुहानसम्म लैजानका लागि सडकको पहुँच नभएका कारण उक्त आयोजना अलपत्र परेको बताइन्छ । उक्त आयोजनासम्म पुग्नका लागि २.७ किलो मिटर नयाँ बाटोको ट्र्याक खोल्नुपर्ने अवस्था छ । बजेट अभाव देखाउँदै बाटो खनिएको छैन । खानेपानी अभाव भएपछि अहिले त्यहाँका बासिन्दालाई दैनिक दुई गाग्री पानीको पालो लगाइएको छ । खानेपानीको अभावले २४ घर जति सो स्थानबाट बसाइँसराइ सरेको बताइन्छ ।
HUMAN RIGHTS NEWS PORTAL






