रेशमलाई आममाफी दिने घटनाले लोकतन्त्र झनै अप्ठ्यारोमा पर्नेछ : इन्सेक अध्यक्ष अर्याल

फरकधार डटकम । २०८० जेठ १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन् । क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आम माफी दिनुले भविष्यमा देशलाई नै अप्ठ्यारो बनाउने उनको आकलन छ । अर्यालले रेशम चौधरीलाई आम माफी दिनु ‘देशमा कानुनको उल्लंघन गर्दा पनि राजनीतिक बलको आडमा कतिपयलाई सजाय नै हुँदैन’ भन्ने सन्देश पुग्ने बताए । ‘सर्वोच्च अदालतले पनि यो जघन्य अपराध हो, यो मिनाहा हुन सक्दैन भनेको अवस्थामा झनै मिनाहा गर्नसक्ने विषय होइन यो । त्यस विषयमा सरकारले जसरी बलमिच्याइँ गर्दैछ, यसले आउने दिनमा राम्रो परिणाम ल्याउँदैन । शान्ति सम्झौतापछि पनि जसरी घटनाक्रम यसरी हुने र तत्कालको राजनीतिक फाइदाका लागि, तत्कालीन राजनीतिक लाभको लागि यस्ता घटनामा जसरी मुद्दा फिर्ता लिने प्रचलन बढ्दै गएको छ, त्यसले दण्डहीनतालाई प्रश्रय दिएको छ,’ अर्यालले भने, ‘मानिसलाई जेसुकै गरे पनि यो देशमा कानुनको उल्लंघन गर्दा पनि सजाय राजनीतिक बलको आडमा कतिपयलाई हुँदैन भन्ने सन्देश गएको छ । लोकतन्त्रमा झनै बढी समस्या उत्पन्न गराएको छ ।’ 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले राज्यले बलमिच्याइँका साथ दण्डहीनतालाई प्रश्रय दिनुले देशको छविमा समेत आँच आउने बताए । उनले यस्ता घटनाक्रमले लोकतन्त्रलाई झनै अप्ठ्यारो बनाउने उल्लेख गरे । अर्यालले सर्वोच्च अदालतले पनि सजायलाई निरन्तरता दिने भनेको अवस्थामा गम्भीर अपराधको दोषी करार भइसकेको व्यक्तिलाई आम माफी दिन नहुने बताए ।  ‘इन्सेकले आफूले गरेको अभिलेख र सर्वोच्च अदालतले पनि सजायलाई निरन्तरता दिने भनेको अवस्थामा यस्तो गम्भीर अपराधको दोषी करार भइसकेको व्यक्तिलाई यसरी आम माफी दिनु हुँदैन । यसले विधिको शासनको जुन मान्यता छ । यसको उल्लंघन गर्दछ,’ अर्यालले भने, ‘विधिको शासन नभएको अवस्थामा अराजकताले लोकतान्त्रिक हक अधिकारहरूलाई अप्ठ्यारोमा पार्छ । यो देशको छविको कुरा हो । राजनीतिक पार्टीको स्पष्टता नहुँदा हामी अप्ठ्यारोमा छौँ । माओवादीलाई यसबाट द्वन्द्वकालका धेरै कुरामा सहज हुन्छ । उहाँहरूले सहजै पन्छाउने सोच छ ।’   अध्यक्ष अर्यालले नागरिक समाजले यसको विरुद्धमा सरकारलाई दबाब दिनुपर्ने बताए ।  

Source: http://fd.prixa.net/story/111307/