लुम्विनी प्रदेशमा महिला भन्दा बालिका बलत्कारको घटना डरलाग्दो

बुटवल टुडे डटकम । २०८१ फागुन ८ गते

नेपालमा सन् २०२४ मा राज्य तथा अन्य पक्षबाट १० हाजार ७ सय ३४ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय नेपालगञ्जले बुधबार मानवअधिकार वर्षपुस्तक २०२५ सार्वजनिक गर्दै राज्य पक्षबाट ४ सय ५८ जना तथा अन्य पक्षबाट १० हजार २ सय ७६ जना गरी जम्मा १० हाजार ७ सय ३४ जना पीडित भएको जनाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, प्रहरी प्रमुख तुलबहादुर कार्की, राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारी र इन्सेक लुम्विनी प्रदेश कार्यालय नेपालगञ्जका संयोजक भोला महतले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरे ।

इन्सेकले गरेको अभिलेख अनुसार गतवर्ष अर्थात सन् २०२३ मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा राज्यपक्षबाट ९ सय ९२ जना तथा अन्य पक्षबाट ८ हजार ४ सय ३० जना गरी जम्मा ९ हजार ४ सय २८ जना पीडित भएका थिए । गत बर्षभन्दा यो वर्ष १ हजार ३ सय ६ ले बढी हो । मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै (इन्सेक) लुम्विनी प्रदेश कार्यालय नेपालगञ्जका संयोजक महतले तथ्यांकको हिसावले मानवअधिकार ज्यादतीका घटना बढेको बताए । उनले भने, ‘राज्य पक्षबाट प्रत्यक्ष रुपमा हुने मानव अधिकार उल्लंघनका घटनाहरुमा कमी आएको देखियो तर, गैर राज्यपक्ष अर्थात अन्य पक्षबाट मानवअधिकार ज्यादतीका घटनामा उल्लेख्नीय मात्रामा संख्या बढेको अभिलेख छ ।’ यसमा पनि सबैभन्दा बढी महिला हिंसाका घटनाहरु रहेको उनले बताए ।

लुम्विनी प्रदेशको सन्दर्भमा जानकारी दिँदै संयोजक महतले अपहरणमा ७ जना, वालअधिकारका घटनाहरुमा ३ सय ३३ जना, अमानवीय ब्यवहारमा ३४ जना, कुटपीट १७ जना, महिला अधिकारसँग सम्वन्धित घटनामा १ हजार ७ सय ९१ जना, कारगारमा मृत्यु १ जना, हिरासतमा मृत्यु २ जना, जातीय विभेदमा २ जना, घाइते ३२ जना, धम्की १२ जना, आर्थिक सामाजिक र साँस्कृतिक अधिकारबाट २ जना, हत्या ३८ जना गरी २ हजार २ सय ७१ वटा घटनाहरु वर्ष पुस्तकमा अभिलेख भएको बताए । वालअधिकारसँग सम्बन्धित घटनालाई हेर्दा वालविवाह, वालवालिका बेचबिखन, विद्यालयमा दिइने शारीरिक यातना र बलात्कारका घटना रहेको संयोजक महतले बताए । सन् २०२४ को तथ्यांकअनुसार महिला बलात्कार भन्दा वालिका बलात्कारको घटना डरलाग्दो अवस्था देखिएको उनको भनाई छ । उनले भने, ‘वालिकाहरुमा सामूहिक बलात्कार, हाडनाता करणीका घटना र यौन दुब्र्यवहारका घटना छन् ।

उनले अगाडि थपे, एक बर्षमा ३ सय ३३ वटा घटना वालिकासँग सम्बन्धित घटना अभिलेख गरिएको छ ।’ महिला अधिकारसँग सम्बन्धित घटनामा सबैभन्दा बढी १ हजार ५ सय ८४ वटा घरेलु हिंसाका घटना रहेको उनले उल्लेख गरे । यस्तै महिलालाई परिवारजनबाट हत्या १३, सामूहिक बलात्कार ११, हाडनाता करणी ३, बैवाहिक बलात्कर १, बलात्कार प्रयास १५, यौन दुब्र्यवहार ७, महिला बेचविखन १८, कथित बोक्सीको आरोप ३, दाईजोजनित हिंसा ३ लगायत महिला अधिकार सम्बन्धित १ हजार ७ सय ९१ वटा घटना अभिलेख गरिएको संयोजक महतले जानकारी दिए । यो सँगै लुम्विनी प्रदेशमा २ हजार २ सय ७१ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको पुस्तकमा उल्लेख छ । इन्सेकले बुधबार देशका सात प्रदेश र काठमाडौबाट एकैसाथ मानवअधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक गरेको संयोजक महतले बताए ।

Source: https://butwaltoday.com/?p=88152