








समाधान न्यूज डटकम । पोखरा । २०७९ मङ्सिर ९ गते
‘सभ्य समाजको पहिचानः लैगिंक हिंसा विरुद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्न लागिएको छ । शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको अगुवाइमा यही नोभेम्बर २५देखि डिसेम्बर १० तारिख तदनुसार मंसिर ९ देखि २४ गतेसम्म अभियान सञ्चालन गर्न लागेको मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए । प्रदेशका सामाजिक विकास कार्यालय, स्थानीय तह तथा मानव अधिकारवादी संघ संस्थाको समन्वयमा अभियान सञ्चालन गर्नको लागि मन्त्री श्रेष्ठको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । आवश्यकता अनुसार मुल समारोह समिति अन्तर्गतका विभिन्न उपसमिति गठन गर्ने मन्त्रालयका सामाजिक महाहाखाका प्रमुख जमुना शर्माले बताइन् । मन्त्री श्रेष्ठले लैंगिक हिंसाको अन्त्य गर्नका लागि गरिने विश्वव्यापी अभियान अन्तर्गत प्रदेश सरकारले ११ जिल्लामा बजेट र कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
‘अभियानको क्रममा हिंसा न्यूनीकरणका लागि कार्यक्रमको रुपमा कार्यक्रम गरिने छैन,’ मन्त्री श्रेष्ठले भने, ‘लैंगिक हिंसाबाट प्रभावितहरुको सशक्तीकरणमा ध्यान दिइने छ । हिंसाको कारण पहिचान र न्यूनीकरणका उपाय खोज्न सक्रियतापूर्वक लागिने छ ।’ उनले पोखरा महानगरपालिकासँग सानोतिनो कुरा नमिल्दा पोखरा ३३ मा स्थापना भएको सुरक्षित आवास गृह सञ्चालन हुन नसकेको जानकारी दिए । सामाजिक महाशाखाका प्रमुख शर्माले हिंसामा परेका महिलाको व्यवस्थापनका लागि बनेको आवास गृहको सञ्चालन र व्यवस्थापनको मापदण्डको सवालमा महानगर र मन्त्रालय एकमत हुन नसकेको जानकारी दिइन् । उनले ८० लाखको लागतमा बनेको आवासगृह महानगरले ३० प्रतिशत, सञ्चालन गर्ने संस्थाले १० प्रतिशत र अरु सबै मन्त्रालयले व्यहोर्ने गरी सञ्चालन गर्ने पूर्व सहमति भएको बताइन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव मनमाया पंगेनी भट्टराईले नेपाल सरकारले जारी गरेको लैंगिक हिंसा निवारण ऐन अन्तर्गत प्रत्येक स्थानीय तहमा लैंगिक हिंसा निवारण कोष खडा गर्नुपर्ने जानकारी दिइन् । उनले ऐनमा व्यवस्था भए अनुसार सबै प्रदेशमा दीर्घकालीन पुनस्थापना केन्द्र खोल्नुपर्ने बताइन् । उनले सरकारी लगायतको सरोकारवाला निकायको समन्वयमा सकारात्मक सन्देश दिने खालको प्रभावकारी कार्यक्रम गर्ने उल्लेख गरिन् । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले सन् १९८१ मा ल्याटिन अमेरिकी देश डोमिनिकन गणतन्त्रको त्रिजुलो सरकारले एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदीबहिनीको हत्यालाई लैंगिक रुपमा गरिएको राजनैतिक हिंसाको रुपमा लिएर विश्वव्यापी रुपमा अभियान गरिएको जानकारी दिए ।
त्रिजुलो सरकारको अन्त्य र स्वतन्त्र गणराज्य स्थापनासँगै सन् १९९१ मा डोमिनीकन गणराज्य र अन्य ७४ राष्ट्रले संयुक्त राष्ट्रसंघमा २५ नोभेम्बरलाई महिला विरुद्व हुने हिंसा उन्मूलन दिवसको रुपमा मनाउन प्रस्ताव पेश गरेको जानकारी दिदै उनले संयुक्त राष्ट्रसंघले उक्त प्रस्तावलाई पारित गरी सोही अनुसार अभियान विश्वव्यापी रुपमा मनाउन थालिएको बताए । कार्यक्रमममा शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज सुवेदी, उपसचिव तोयनाथ लम्साल, शान्तिको लागि नागरिक समाजको सञ्जाल पोखराका पूर्व संयोजक विष्णुप्रसाद बराल, शिक्षाका लागि राष्ट्रिय अभियान गण्डकीका संयोजक इन्दिरा पौडेल लगायतले सामाजिक संघ संस्थाको समन्वयमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रम समुदाय स्तरमा पुर्याउने बताए ।