लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकार प्रतिवद्ध छ : राज्य मन्त्री गजमेर

१० मंसिर २०७७, बुधबार १७:५४

 

विराटनगर, १० मंसिर । प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले लैङ्गिक हिंसा अन्त्यका लागि सङ्घीय सरकार र प्रदेश सरकारले प्रभावकारी कदम चालेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक),माइती नेपाल, ओरेकलगायतका आधा दर्जन बढी अधिकारको क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले आज विराटनगरमा आयोजना गरेको लैङ्गिक हिंसा विरूद्धको १६ दिवसीय अभियानको उद्घाटन गर्दै राज्य मन्त्री गजमेर लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबैको साझा प्रतिवद्धता आवश्यक रहेको बताउनु भएको छ । उहाँले विगतको समयमा अधिकारकर्मीहरूले हिंसा नसहन र न्यायका लागि आवाज उठाउनु फैलाएको चेतनाका कारण पछिल्ला दिनमा सबै तह र तप्काबाट न्यायका लागि आवाज उठ्न थालेको बताउनु भयो । मन्त्री गजमेरले १६ दिवसीय अभियानले सबैलाई एकतावद्ध गरी लैङ्गिक हिंसा अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रदेश १ मा अभियान सुरू भएको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय निमित्त प्रमुख गीता दाहालले राज्य एक्लैले मात्र लैङ्गिक हिंसा न्यूनीकरणका लागि कार्य गर्न नसक्ने बताउनु भयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगले समयसमयमा लैङ्गिक हिंसा वा अन्य कुनै हिंसा परेकाहरूलाई न्याय दिलाउनका लागि आयोगले सरकार समक्ष सिफारिस गर्दै आएको बताउनु भयो । गैर सरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य उमेश विश्वकर्माले समाजमा अझै पनि दुवै खाले मानसिकता कायम रहेकाले लैङ्गिक हिंसा न्यूनीकरणका प्रयासहरू प्रर्याप्त नभएको बताउनु भयो । राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले पछिल्ला दिनमा बौद्धिक अपाङ्गता भएका महिला र बालबालिकामाथि हिंसाका घटना बढेको बताउनु भयो । अधिकारकर्मी मञ्जीता उपाध्यायले अधिकारकर्मीहरूको सक्रियताका कारण विगत केही वर्षयता आम रूपमा महिला तथा बालबालिकाहरूले हिंसाको विरोध र दोषीलाई कारबाहीका लागि आवाज उठाउन थालेको बताउनु भयो । १६ दिनसम्म मनाइने दिवसमा अधिकारको क्षेत्रमा क्रिया सङ्घसंस्थाहरूले महिला स्वास्थ्य र परामर्श मेलासहित कोेभिड–१९ को समयमा महिला र बालबालिका तथा ज्येष्ठ नागरिकहरूको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने लगायतका कार्यक्रम तय गरेका छन् ।

Source: https://www.arunkhabar.com/details/19685.html