लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान विभिन्न कार्यक्रम गरि मनाईने
९ मंसिर, दमौली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान विभिन्न कार्यक्रम गरि जिल्ला स्तरमा मनाईने भएको छ । बुधबारदेखी सुरु हुने यस अभियान डिसेम्बर १० सम्म चल्नेछ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष १६ दिने लैङ्गिंक हिंसा बिरुद्धको अभियान विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरिएको छ । यो अभियान लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि सर्मपित एक बिश्वब्यापी अभियान हो । हरेक बर्षको नोभेम्बर २५ तारिख देखि यो अभियान शुभारम्भ भई अन्तराष्ट्रिय मानवअधिकार दिवस १० डिसेम्बरका दिन यस अभियानको समापन गर्ने गरिन्छ । गन्डकी प्रदेशमा सामाजिक विकास मन्त्रालयको सहयोगमा विभिन्न संघ संस्थाको आयोजनामा यो अभियान १६ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाईने निर्णय भएको छ ।
अभियानको पहिलो दिन सेतो रिवन वितरण कार्यक्रमका साथ १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको शुभारम्भ गरिने र सो कार्यक्रममा सरकारी तथा गैरसरकारी संघ संस्थाको सहभागिता रहने छ । त्यस्तै राष्ट्रिय अपागं महासंघ गण्डकी प्रदेशको सहकार्यमा अन्तराष्ट्रिय अपागंता दिवस तथा अपांगता भएका महिलाहरुसँगको अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । त्यसैगरि गैरसरकारी संस्था महासंघको सहकार्यमा सबै जिल्लाहरुमा महिला तथा बालबालिकाहरुको न्यायमा पहुँच बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । त्यस्तै कोपीला नेपालको सहकार्यमा प्रदेश भित्रका २२ जनालाई १० दिने मनोसामाजिक परामर्शकर्ता तालिम दिइने भएको छ । त्यस्तै जिल्लाका सन्चार माध्यमहरुको सहकार्यमा सचेतना मूलक कार्यक्रम उत्पादन, प्रकाशन एवं प्रसारण गरिने छ ।
त्यस्तै शक्ति समूहको सहकार्यमा मनोरन्जनका क्षेत्रमा कार्यरत श्रमिक बालिकाहरुमाथि हुने यौन दुव्र्यवहार सम्बन्धमा अन्तरक्रिया कार्यक्रम, महिला मानव अधिकार रक्षक संजालको सहकार्यमा प्रजनन स्वास्थ्य र सूरक्षित गर्भपतन बारे अधिकारकर्मिसँग अन्तरक्रिया कार्यक्रम, तथा इन्सेक र जागृती बालतथा यूवा सरोकार केन्द्रको सहकार्यमा गण्डकी प्रदेशको नीति तथा योजनामा बालिका अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छ ।
त्यसैगरि इन्सेकको सहकार्यमा जिल्लामा जातिय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छ । त्यस्तै कोपिला नेपालको सहकार्यमा लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी रेडियो तथा टेलिभिजन कार्यक्रम, थ्रि एन्जल्स नेपालको आयोजनामा लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम तथा प्रदेश प्रहरी कार्यालयको आयोजनामा हिंसा न्यूनिकरणका लागि सचेतना मूलक बृत्तचित्र प्रर्दशनी कार्यक्रम आयोजना गरिने छ ।
अभियानको अन्तिम दिन १० डिसेम्बर विश्व मानवअधिकार दिवसको अवसरमा सामाजिक बिकास मन्त्रालयको आयोजनमा अभियानको समिक्षा तथा समापन कार्यक्रम गरिने भएको छ । यो अभियानको शुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकाबाट डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदी बहिनीको हत्यासँग जोडिएको छ । यस घटनालाई लैंङ्गिक रुपमा गरिएको राजनैतिक हिंसाको रुपमा लिईन्छ । ३ दिदीबहिनी राजनैतिक कार्यकर्ता भई तत्कालिन त्रिजुलो तानाशाही सरकारको बिरुद्धमा लागि परेका थिए । उनीहरुलाई राज्यद्रोहको आरोप लागेको थियो । यसै आरोपमा २५ नोभेम्बरमा उनीहरुको सामूहिक हत्या भएको थियो । उनीहरुका शुभचिन्तकहरु हत्याको बिरोधमा आन्दोलनमा उत्रिए । त्रिजुलोे सरकारको अन्त्य र स्वतन्त्र गणराज्य स्थापना सँगै सन् १९९१ मा डोमिनीकन गणराज्य र अन्य ७४ राष्ट्रले संयुक्त राष्ट्रसंघमा २५ नोभेम्बरलाई महिला बिरुद्ध हुने हिंसा उन्मूलनदिवसको रुपमा मनाउन प्रस्ताव पेश भयो । संयुक्त राष्ट्रसंघले उक्त प्रस्तावलाई पारित गरि सोहीअनुसार यो अभियान विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।
HUMAN RIGHTS NEWS PORTAL






