लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन
धनगढी खबर डटकम । २०८० मङ्सिर २२ गते
धनगढी । कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूह, बाल अधिकार चेतना समूह र जनकल्याण माध्यमिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले सडक नाटक तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार सडक नाटक तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । जनकल्याण माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले समाजमा व्याप्त महिला हिंसा र लागु पदार्थ दुर्व्यसनीले परिवार र समाजमा परेको नकारात्मक असर बारे जनचेतनामूलक सडक नाटक प्रदर्शन हो । कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहका सचिव ज्ञानु चौधरीले महिला हिंसा र लागु पदार्थको कारण परिवार र समाजमा नकारात्मक असर पारिरहेकाले यस्ता विसङ्गतिलाई न्यूनीकरण गर्न परिवार, समाज र सरोकारवाला निकायको सहयोग आवश्यक पर्ने बताइन् ।
जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ चौधरीले बाल अधिकार चेतना समूहद्वारा प्रदर्शन गरिएको सडक नाटकले जनचेतना फैलाउनुको साथै विद्यार्थीहरूको आन्तरिक प्रतिभाको प्रस्फुटनसँगै क्षमताको विकास हुने बताए । उनले आगामी दिनमा पनि सचेतना मूलक कार्यक्रम आवश्यक रहेको बताए । बाल अधिकार चेतना समूहको संरक्षक शिक्षक सन्तराम चौधरीले बाल अधिकार चेतना समूहद्वारा प्रदर्शन गरिएको सडक नाटकले समाजको यथार्थ चित्रण गरेकाले महिला हिंसा तथा लागु औषध जस्ता आपराधिक गतिविधि न्यूनीकरणका सम्पूर्ण सरोकारवालाहरू सचेत हुन आवश्यक रहेको बताए । जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।