वर्ष पुस्तक २०२२ का लागि संकलित घटनाको प्रकाशन पूर्व इन्सेकले गर्यो समिक्षा(भिडियाे)
सफल आवाज । २०७८ पुस ७ गते
पोखरा, ७ पुस । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि यहाँ संकलन गरिएका घटनाहरुको प्रकाशन पूर्व वार्षिक समिक्षा पोखरामा बुधबार सम्पन्न गरेको छ । इन्सेकले कास्की जिल्लामा सन् २०२१ जनवरी देखी डिसेम्बरसम्म ८१ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना अभिलेख गरेको जनाएको छ । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलका अनुसार मानव बेचविखन तथा जर्वजस्ती यौन कार्यमा लगाइएका ६ जना, बलात्कार एक जना र घरेलु हिंसामा ४९ महिला पीडित बनेका छन् । परिवारजनबाट हत्या गरिएका ४ वटा घटनामा पतिबाट हत्या गरिएका महिला ३ जना रहेका छन् । एक जना पुरुष छन् । सो अवधीमा ७ जना बालिका बलात्कार, एक बलात्कारपछि हत्या र तीन जना बालक यौन दुव्र्यबहारका घटनाबाट पीडित बनेको अभिलेख इन्सेकले गरेको छ । यस्तै बालबालिका विरुद्धको कसुर अन्तरगत दुई घटनामा ६ जना बालबालिका पीडित बनेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सबै नागरिकले सम्मानपूर्वक जिवनयापन गर्न पाउने अवस्था सिर्जना गर्नका लागि सबैको सहयोग आवश्यक भएको बताए । आचार्यले प्रहरी प्रशासनको तर्फबाट पिडकलाई कानूनी दायरामा ल्याउने, पिडितलाई न्याय दिलाउने र समाजमा शान्तिको वातावरण बनाउने प्रयास भईरहेको बताए । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले वर्ष १९९२ देखि इन्सेकले देशैभर घट्ने घटनाहरु, मानव अधिकार उल्लंघन र घटनाहरुको अभिलेखन कार्य गर्दै आएको बताउँदै हरेक वर्ष प्रकाशन गर्दै आएको वर्ष पुस्तक यो वर्ष फागुन ७ गते सार्वजनिक गरिने बताए । उनले यो पटक ३० औं संस्करणको रुपमा मानव अधिकार वर्ष पुस्तक सार्वजनिक हुन लागेको बताए । इन्सेकले वर्ष पुस्तक सार्वजनिक हुनु अघि घटनाक्रमहरुको समिक्षा गर्ने, सल्लाह सुझाव लिने र प्राप्त नयाँ कुराहरुलाई समेटेर प्रकाशन गर्ने गरेको उनले बताए ।
सो अवसरमा खकुरेलले कास्की कारागारमा क्षमताभन्दा बढी कैंदि राखिएको, उनीहरुले सहज किसिमको वातावरण नपा्एको, दैनिक ज्याला ६० रुपैयाँ भएपनि अपुग भएको र उनीहरुलाई दिईने ७०० ग्राम सिदा अपुग भई घरबाट ल्याएर खानुपर्ने समस्या रहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराए । साथै उनले अघिल्लो वर्ष प्रदेश सरकारले मानव अधिकारको क्षेत्रमा काम गर्नका लागि ७ लाख वजेट छुट्याएकोमा यसपालि घटाएर पाँच लाखमा सिमित गरेपनि त्यसको भरपुर प्रयोगमा ध्यान दिनुपर्ने बताए । समाजिक विकास मन्त्रालयले पनि यस्तो महत्वपूर्ण क्षेत्रमा न्यून वजेट छुट्याउने गरेको उल्लेख गरे । कार्यक्रम अधिकृत सवनम शर्माले संचालन गरेको कार्यक्रममा इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेले सुरुमा कास्कीमा सन् २०२१ जनवरी देखि डिसेम्बरसम्म घटेका घटनाक्रमहरुको बारेमा सहजिकरण गरेका थिए । अध्यक्षता इन्सेक गण्डकी संयोजक शिव खकुरेलले गरेका थिए ।