वाग्मती प्रदेशमा मानव अधिकारको अवस्थामा सुधार

काठमाडौं । वाग्मतीमा मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएको छ । गत वर्ष भन्दा उल्लङ्घनका घटनामा कमी आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । सन् २०२० मा वाग्मती प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । यो सङ्ख्या गत वर्षभन्दा ४ सय २ जनाले कमी भएको इन्सेकले जनाएको छ । अघिल्लो वर्ष सन् २०१९ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ४ सय ९४ जना पीडित भएका थिए ।  इन्सेक वाग्मती प्रदेशल सार्वजनिक गरेको विवरण अनुसार सन् २०२० मा मानव अधिकार उल्लङ्घनका घटनामा १९ जना महिला र २ सय १९ पुरुष गरी जम्मा २ सय ३८ जना पीडित भएका छन् । त्यस्तै ज्यादतीका घटनामा ७ सय ८२ जना महिला, ७१ जना पुरुष र एक तेस्रो लिङ्गीसहित जम्मा ८ सय ५४ जना पीडित भएका छन् ।  इन्सेक वाग्मती प्रदेशका अनुसार यस वर्ष राज्यपक्षबाट एक जनाको हत्या भएको छ । त्यस्तै यातनाका घटनामा चार जना, गिरफ्तारीका घटनामा १ सय ६ जना, जातीय विभेदका घटनामा चार जना, भेला तथा सङ्गठित हुने अधिकारमा ५६ जना, धम्कीका घटनामा ६ जना र कुटपिटका घटनामा ४० जना पीडित भएका छन् ।

 
महिलाविरुद्ध हुने सबै प्रकारका दुव्र्यवहार घटनामा सन् २०२० मा वाग्मती प्रदेशमा  ४ सय १९ जना पीडित भएका छन् । यस वर्ष बेचबिखनका प्रयासका घटनामा पाँच जना, घरेलु हिंसाका घटनामा ७० जना, कथित बोक्सीको आरोपमा आठ जना, बलात्कारका घटनामा २ सय १० जना, बलात्कार प्रयासका घटनामा ३४ जना, यौन दुव्र्यवहारको घटनामा ११ जना र बेचबिखनका घटनामा पाँच जना महिला पीडित भएका छन् ।  यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ३ सय ३० जना पीडित भए । जसमध्ये बलात्कारका घटना २ सय ३५ वटा भएका छन् । त्यस्तै यौन दुव्र्यवहारको घटनामा ६ जना बालक सहित ८७ जना पीडित भएका छन् ।बालबालिका बेचबिखनमा आठ जना, नवजात शिशु हत्या पाँच जना पीडित भएका छन् । बालबिवाहका तीन र विद्यालयमा शारीरिक सजाय दिइएका घटनामा दुई जना बालबालिका पीडित भएका छन् ।  वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियाले हेटौडामा इन्सेकले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिकीकरण गर्दै मानव अधिकारको अवस्था कुनै पनि हालतमा सङ्कुचित हुन नहुने बताउनुभयो । उहाँले इन्सेकलाई घटना अभिलेख मात्र नभई घटना हुनाको कारण तर्फ पनि खोजी गर्न आग्रह गर्नुभयो । समाजमा हुने कुनै पनि घटनाको पछाडि कारणहरू हुने भएकोले त्यसतर्फको खोजीबाट समस्या पहिचानसँगै समस्या न्युनीकरणको लागि सहयोग पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा इन्सेक वाग्मती प्रदेश संयोजक कृष्ण गौतमले राज्यलाई जवाफदेही बनाउन हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशित हुने गरेको बताउनुभयो ।

Source: https://sunrisekhabar.com/news-details/24673/2021-02-20?fbclid=IwAR3N9t83wFKDG00P1vFd82wmlijr03JPo-GOSg4WKsUTilXlI2cI-ishASs