वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
चितवन । २०७९ असार १५ गते
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ । कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका प्रतिनिधिले गरेका थिए । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत संविधानको मौलिक अधिकारले सुनिस्चित गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका क्षेत्रमा इन्सेकले ३५ जिल्लाका ७५ पालिकामा गरेको काम र उपलब्धिको समीक्षा समेत गरिएको थियो । स्थानीय तहका जिम्मेवार निकायलाई उत्तरदायि बनाउन गठन भएका मानव अधिकार समूहले स्थानीय जनतालाई आफ्ना अधिकारको पहिचान गर्न र ति पहिचान भएका अधिकार प्राप्तिका लागि मागदावी गर्न सक्षम बनाइएको प्रदेशबाट कार्यक्रम फोकल पर्सनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी इन्सेकले मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रम तर्फ मानव अधिकार वर्ष पुस्तकका लागि ७७ जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका साथै पीडितको न्यायका लागि पहल गरिएका घटना विवरणलाई समेटिएको थियो । मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रम, मानव अधिकार शिक्षा कार्यक्रमले गरेका कामको उपलब्धि, पीडितको रहात, जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमबाट प्राप्त उपलब्धि र सफलताका कथा प्रस्तुत गरिएको थियो । कार्यक्रममा इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ, कार्यकारी निर्देशक विजयराज गौतम, मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईँ, सम्झा श्रेष्ठ, मानव अधिकार शिक्षा कार्यक्रमका प्रमुख मदन पौडेललगायतले इन्सेकको भूमिका र योगदानबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा सातै प्रदेशका प्रदेश संयोजक, प्रलेख अधिकृत, कार्यक्रम फोकल पर्सन, केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत ३८ जनाको सहभागिता रहेको थियो ।
दिपेन्द्र अधिकारी