








नेपालगञ्ज न्यूज डटकम । २०७८ माघ १८ गते
निजी बिद्यालयहरुले परीक्षाको नजिता हेर्न अनिवार्य रुपमा शुल्क बुझाएको बिल देखाउने पर्ने नियम लगाएको भन्दै बाँकेका अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । नेपालगन्ज स्थित मानव अधिकारकर्मीहरुको सोमवार भएको बैठकले संस्थागत विद्यालयहरुको हर्कतप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कोरोना कहरमा निजी शैक्षिक संस्थाले सेवाभावले काम गर्नु पर्नेमा शुल्कलाई प्राथमिकता दिएकोमा आपत्ति जनाएका हुन् । कोरोनाको मारमा परेका अभिभावकलाई शुल्क नतिरि रिजल्ट नदिने भन्ने कार्यले बालबालिकाको मनःस्थितिमा नकारात्मक प्रभाव पार्ने नेपालगन्ज उच्च बारका पूर्व अध्यक्ष अधिवक्ता बिकाश आचार्यको भनाइ छ । नेपालगन्ज स्थित मानव अधिकारकर्मीको बैठकले कोरोना कहरमा आम नागरिकको आधारभूत मानव अधिकार संरक्षणमा जोड दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको संयोजनमा सोमवार भएको मानव अधिकारकर्मीहरुको बैठकले आम नागरिकसम्म सहज रुपमा कोरोना बिरुद्धको खोप लगाउने ब्यवस्था मिलाउन सरोकारवालाई ध्यानाकर्षण गराउने निर्णय पनि गरेको हो । मानव अधिकार आयोगका नेपालगन्ज प्रमुख झंकर बहादुर रावलको संयोजकत्वमा भएको बैठकले खोप कार्ड नभएका नागरिकलाई सरकारी सेवा लिनबाट बन्चित गर्ने भन्दा पनि खोप लगाउने कार्यलाई ब्यापकता दिन, स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि सेवा प्रवाहको ब्यवस्था मिलाउन उपयुक्त हुने ठहर गरेको इन्सेक प्रदेश संयोजक भोला महतले बताए ।
एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले कोरोना कहरमा स्वास्थ्य उपचारको सुनिश्चितता गर्न, आम नागरिकको जीवनको अधिकार र बाँच्न पाउने अधिकार लगायतका आधारभुत मानव अधिकार संरक्षणमा राज्यका निकाय अझ बढी जिम्मेवार हुनु पर्ने बिषयमा अधिकारकर्मीको बैठकमा छलफल भएको बताए । अधिकारकर्मीको बैठकमा बीमा कम्पनीहरुले अहिलेसम्म बिमितलाई कोरोना बिमा वापतको रकम नदिएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल बीमा रकम भुक्तानी दिनु पर्नेमा जोड दिएको गौतमले बताए । अधिकारकर्मीको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज प्रमुख झंकर बहादुर रावल, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका प्रदेश संयोजक वसन्त गौतम, जिल्ला बार अध्यक्ष जनक बहादुर शाही, नेपालगन्ज उच्च बारका पूर्व अध्यक्ष बिकाश आचार्य, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजीत तिवारी, फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्दिकी लगायतको सहभागिता रहेको थियो ।