विभेदकारी मनासय भएको व्यक्ति मानवअधिकार रक्षक हुन सक्दैन : खकुरेल
सफल आवाज डटकम । पोखरा । २०७९ भदौ १३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले मानवअधिकार रक्षकको संरक्षण र सम्बर्धनमा सरोकारवालाको भूमिका विषयमा अन्तक्रिया गरेको छ । सोमबार पोखरामा भएको प्रदेश स्तरीय अन्तक्रियामा ‘नेपालमा मानवअधिकार रक्षकको संरक्षण, सम्बर्धन, सरोकार र चुनौती’ बिषयक कार्यपत्र प्रस्तुत गर्दै इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले मानवअधिकारमैत्री कानून निर्माण हुनुपर्नेमा जोड दिए । उनले आवाजविहिनहरुको आवाजलाई उजागर गर्न रक्षकको खाँचो औंल्याए । विभेदकारी मनासय भएको व्यक्ति मानवअधिकार रक्षक हुन नसक्ने भन्दै संयोजक खकुलेलले सबैलाई समेटेर लैजानुपर्ने बताए । इन्सेकद्धारा मानवअधिकार रक्षकहरुको गरिएका प्रयासबारे स्पष्ट पार्दै उनले जोखिममा रहेकाहरुका लागि तत्काल उद्दार तथा उनिहरुविरुद्ध भएका घटनाहरुको अभिलेख राख्ने जस्ता कार्य गर्दै आइरहेको बताए । गण्डकी प्रदेशको सन्दर्भमा द्वन्दकालकाे तुलनामा कम जोखिम देखिएपनि उनिहरुले चुनौती तथा व्यवधानहरुको सामना गरिरहनुपरेको उनको भनाइ छ । मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षणका लागि छुट्टैखालको कानून निर्माण नहुनु, प्रदेश तथा स्थानीय सरकार मानवअधिकारप्रति संवेदनशील नहुनुले रक्षकहरुका सामु थुप्रै चुनौती रहेको पनि उनले स्पष्ट पारे । अधिकार संरक्षण र सुरक्षाका लागि प्रदेश सरकारले छुट्टै कानून र संयन्त्र निर्माण गर्न पहल गर्नुपर्नेमा उनको जोड थियो । नागरिकका अधिकार कुण्ठित भएमा कानूनी प्रक्रियामा जानुपर्ने उनले बताए ।
राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका निर्देशक चन्द्रकान्त चापागाईंले सशस्त्र द्धन्द्ध, जनआन्दोलन, भुकम्प, कोभिड तथा अन्य समयमा आयोगले विभिन्न संघसंस्थाहरुको सहकार्यमा अनुगमन गर्दै आइरहेको बताए । मानवअधिकार रक्षकहरुको संरक्षण र सम्बद्र्धनप्रति आयोग प्रतिबद्ध रहेको उनको भनाइ छ । सही र गलत छुट्याउन सक्ने क्षमता मानवअधिकार रक्षकहरुमा हुनुपर्नेमा उनको भनाइ छ। अधिवक्ता कुञ्जनी परियार प्यासीले मानवअधिकार रक्षक सम्बन्धि संयुक्त राष्ट्रसंघको घोषणापत्र तथा सुरक्षा संरक्षण गर्ने आदेश सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै मानवअधिकारको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको बताइन् । नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनाले मानवअधिकार, शान्ति र न्यायका क्षेत्रमा इन्सेक क्रियाशिल रहँदै आएको उल्लेख गर्दै महासंघले सहकार्य गर्ने बताए । उनले मुलुकमा सुशासन कायमा नभए सम्म मानवअधिकारको सुनिश्चिता नहुने भन्दै संचारकर्मीहरुले निर्वाधरुपमा कलम चलाउन सक्ने वातावरणको सिर्जना हुनुपर्ने बताए । समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारहरुलाई धम्की आउने गरेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । नौलो बिहानी पोखराकी प्रमुख रजनी थकाली (फुपु) ले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरु बढी विभेदमा परेको गुनासो गरिन् । कार्यक्रममा मानवअधिकार रक्षक संरक्षण तथा प्रबद्र्धन केन्द्रका कार्यवाहक अध्यक्ष ढाकाराम पौडेल, राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्मा, गैर सरकारी संस्था महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष पदमराज पहारी, अधिवक्ताद्धय बिनीता नेपाल, आशा राई, नागरिक समाज कास्कीका पूर्व संयोजक बिष्णुप्रसाद बराल, इन्सेक अधिकृत सवनम शर्मा र हुर्जा कास्कीका अध्यक्ष असफल गौतम लगायतले मानवअधिकार रक्षक स्वतन्त्र र निष्पक्ष हुनुका साथै मौलिकहकहरु कार्यान्वयनका लागि राज्यलाई दबाब दिनुपर्नेमा जोड दिएका थिए ।