शिक्षा, स्वास्थ्य, आवास र खाद्य अधिकारमा बैजनाथको कार्यक्रम
नेपालगञ्ज न्यूज डटकम । २०७८ पुस २२ गते
गरिव र अतिबिपन्न बर्गका लागि आयआर्जन कार्यक्रम संचालन गरिएको अध्यक्ष रुचालको दावी
बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले गाउँपालिकाले पोषणलाई जोडेर गरिव र अति बिपन्न परिवारका लागि सामाजिक जिवन सुरक्षाका कार्यक्रम ल्याइएको बताएका छन् । इन्सेकको संयोजनमा शिक्षा स्वास्थ्य, खाद्य र आवासको अधिकार बारे अनुगमनका लागि पालिकामा पुगेको अधिकारकर्मी र पत्रकारको टोली समक्ष कुराकानी गर्दै पालिका अध्यक्ष ठकुरीले गरिव अतिबिपन्न, दलित, अपाङता भएका आदीबासी, जनजाती लक्षित कार्यक्रम ल्याईएको जानकारी दिए । पालिका अन्तरगतका ४३२ परिवारलाई खाद्य पोषणलाई जोडेर गरिने कार्यक्रममा पालिकाले आर्थिक अनुदान गरि ब्यशायमुलक आयआर्जनका कार्यक्रम संचालन गरिएको जानकारी दिए । पालिका अध्यक्ष ठकुरीसंग बैजनाथ गाउँ पालिकाले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका सवालमा गरेका कार्यहरुका बारेमा अधिकारकर्मीले चासो राखेका थिए । छलफलमा पालिका पदाधिकारी, स्थानीय मानव अधिकार निगरानी समुह, स्थानियवासी र नेपालगंजबाट गएका अधिकारकर्मी र पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा इन्सेक कार्यक्रम संयोजक सरस्वती मल्लले इन्सेकले स्थानीय सरकार, मानव अधिकार निगरानी समुह लगायतका सरोकारवाला निकायसंगको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको पक्षमा वकालत गर्दै आएको जानकारी दिएकी थिइन् । परियोजनाको प्रारम्भिक चरणमा इन्सेकले मानव अधिकार निगरानी समुह मार्फत स्थानीय स्तरका मानव अधिकारको सवालहरु पहिचान गरि स्थानीय सरकारसंगको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार कार्यान्वयका लागि पहल गर्दै आएको मल्लले बताइन् । नेपालगन्जबाट गएको अधिकारकर्मी र पत्रकारको टोली समक्ष कुराकानी गर्दै गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले आमनागरिकको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार संरक्षणका लागी पालिकाले कार्य गर्दै आएको जानकारी दिएका थिए । पालिकाले संघीय सरकारसंगको समन्वयमा फुसको छानो बिस्थापित कार्यक्रम संचालन गर्न लागेको, पोषणलाई जोडेर गरिव र अतिबिपन्न बर्गका लागि आयआर्जन कार्यक्रम संचालन गरिएको पालिका अध्यक्षले बताए । अधिकारकर्मीले कृषकका लागि पालिकाले गरेका कार्यहरुका बारेमा राखेको जिज्ञासामा पालिका अध्यक्ष ठकुरीले कृषकका लागि कृषि अनुदानको ब्यवस्था मिलाइएको, आईपिएम कृषि पाठशालाको अवधारणा अन्तरगत परम्परागत र आधुनिक कृषि प्रयोशालाको खेती गर्ने ब्यवस्था मिलाएको जानकारी गराएका थिए ।
बैजनाथ गाउँपालिकाले नागरिकको स्वास्थ्य, कषि, शिक्षाको अधिकार संरक्षणका लागि स्वास्थ्य, कषि, शिक्षा सम्बन्धि ऐन ल्याएको, अति बिपन्न गरिव परिवारका लागि उच्च शिक्षा माथिको अध्ययनको ब्यवस्था मिलाइएको अध्यक्ष रुचालले जानकारी दिए । द्वन्द्व पीडितका लागि बजेटको ब्यवस्था गरिएको, ६० बर्ष कटेका जेष्ठ नागरिक पुरुषका लागि सामाजिक सुरक्षा भत्ताको ब्यवस्था मिलाइएको अध्यक्ष रुचालले बताए । पालिकाले संघीय कानून र पालिका आफैले बनाएका ऐन, नियम, नीति तथा कार्यक्रम मार्फत नागरिकको आर्थिक सामाजिक र सास्कृतिक अधिकार सरक्षणमा गाउँपालिका लागी परेको अध्यक्ष ठकुरीले दावी गरे । अनुगमनका लागि बैजनाथ गाउँपालिका पुगेका अधिकारकर्मीसंग कुराकानी गर्दैै बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख बिश्वराज ढकालले पालिकाले संबिधानमा उल्लोख भए बमोजिम माध्यामिक तहसम्म निशुल्क अध्ययनको ब्यवस्था मिलाएको, कुनै पनि बहानामा सामादायिक बिद्यालयले बिद्यार्थीबाट शुल्क उठाउन नियम लगाइएको बताए । बिद्यालयलाई अनुदानको ब्यवस्था मिलाइएको, स्कूल बाहिर बिद्यार्थीलाई बिद्यालय जाने वातावरणका लागि समता रणनीति योजना ल्याईएको, बिद्यार्थीका लागी दिवा खाजाको ब्यवस्था मिलाईएको भनी शिक्षा शाखा प्रमुखले अधिकारकर्मीलाई जानकारी गराएका थिए ।
संघीय सरकारले नयाँ शिक्षा ऐन नल्याएको अवस्थामा पनि बैजनाथ गाउँपालिकाले शिक्षा ऐन ल्याएको, बिद्यालयसंग प्रधानाध्यापक कार्यक्रमका माध्यामबाट प्रधानाध्यापक र शिक्षकलाई दक्ष र साधान श्रोत युक्त बनाउने प्रयास स्वरुप प्रअलाई ल्यापटप बितरण, बिज्ञान प्रयोगशाला,लेखा ब्यवस्थापन सम्बन्धि तालिमको ब्यवस्था गरि शिक्षण शिकाईका लागि शिक्षकलाई जिम्मेवार बनाउने प्रयास गरिएको भनी शिक्षा शाखा प्रमुख बताएका थिए । अधिकारकर्मीसंग कुराकानी गर्दै पालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले संबिधानमा ब्यवस्था भएको नागरिकको आधारभुत स्वास्थ्य अधिकार संरक्षणका लागि बैजनाथ गाउँपालिका लागी परेको बताए । बैजनाथ गगाउँपालिका अन्तरगतका ८ वटा स्वास्थ्य केन्द्र मार्फत स्वास्थ्य सेवा प्रदान गर्ने, सरकारले उपलब्ध गराएको ३५ प्रकारका औषधी निशुल्क बितरण गर्ने, ४ वटा वर्थिङ्ग सेन्टर मार्फत प्रसुती सेवा उपलब्ध गराउने, रिफर गरिएका गर्भवतीको सुबिधाको लागि निशुल्क एम्बुलेन्सको ब्यवस्था मिलाईएको बताए । कोरोना संक्रमणको बेला डरत्रासका कारण घरैमा सुत्केरी हुदा ५ जना सुत्केरी अकालमा दुःखद् मृत्यु भएकाले गर्भवती महिलाको पोषण कार्यक्रम अन्तरगत प्रसुती चेकजाँच, एक केजी ध्यू बितरण, मातृमृत्युदर घटाउन सुरक्षित प्रसुति सेवाका लागी जनचेतनामूलक कार्यक्रम संचालन गरिएको जानकारी दिए । पालिकाले सुरक्षित गर्भपतनका लागी पालिकाका ४ स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतनको ब्यवस्था मिलाइएको, ७० बर्ष माथीका बृद्धबृद्धाका लागि निशुल्क स्वास्थ्य बिमाको ब्यवस्था मिलाइएको, क्यान्सर, सिकलसेल, मृगौला पीडितको उपचारमा आर्थिक सहयोगको प्रबन्ध मिलाईएको स्वास्थ्य शाखा प्रमुख शाहीले जानकारी दिए ।
बैजनाथ गाउँपालिकाले आर्थिक, सामाजिक र सास्कृतिक अधिकारका क्षेत्रका गरेका कार्य र त्यसको प्रभावकारीताको अनुगमनका लागि इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्लको संयोजकत्वमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगंज कार्यालयका अधिकृत द्वारिका अधिकारी, एडभोकेसी फोरम नेपालका प्रदेश संयोजक अधिवक्ता गौतम लगायतको टोली स्थलगत अनुगमनमा गएको थियो । अधिकारकर्मीसंगको छलफलमा पालिका अध्यक्ष मान बहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी बिक, पाकिकाका सामाजिक शाखा हेर्ने सदस्य गुमान बहादुर दमाई लगायतका पदाधिकारी र शाखा प्रमुख कर्मचारीहरुको सहभागिता रहेको थियो ।