संविधानको प्रभावकारी कार्यान्वयनमा जोड
नेपालगञ्ज न्यूज डटकम । २०७९ असोज ४ गते
संविधानको प्रभावकारी कार्यान्वयन भए संविधान दिवसको सार्थकता रहने बाँकेका कानून ब्यवशायी तथा अधिकारकर्मीले बताएका छन् । संविधान दिवसका सन्दर्भमा नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागीहरुले संविधानको सबैले सम्मान र पालना गर्नु पर्ने बताएका थिए । मानव अधिकार संजाल नेपालगन्ज, पिआईएल कानून ब्यवशायी समुह, कानून पत्रकार समुह बाँके, मानव अधिकार संगठन, सुचना र मानव अधिकार अनुसन्धान केन्द्र लगायतको आयोजना तथा इन्सेकको समन्वयमा भएको सविंधान कार्यान्यवनमा हाम्रो भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा अधिकारकर्मी र कानून ब्यवशायीहरुले संबिधान भएका मौलिक हकको कार्यान्वयन, आधारभुत मानव अधिकार संरक्षणमा राज्यका निकाय गंभिर हुनु पर्नेमा जोड दिएका थिए । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले संचालन गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख झंकर बहादुर रावल, नेपाल मानव अधिकार संगठनका बाँके अध्यक्ष प्रह्लाद बहादुर कार्की, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतम, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, द्धन्द्ध पीडित तथा एकल महिला संजालका जयन्ती केसी, अधिकारकर्मी रबिन्द्र कर्ण, पत्रकार मधु पौडेल लगायतले संबिधानमा उल्लेखित हक अधिकारहरुको सबैले उपभोग गर्न पाउनु पर्नेमा जोड दिएका थिए ।
रावल र श्रेष्ठलाई संजालको सम्मान
यसैबीच मानव अधिकार संजाल नेपालगंजले राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज प्रमुख झंकर बहादुर रावल र वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त गर्नु भएका सुनिल कुमार श्रेष्ठलाई सम्मान गरेको छ । सामाजिक अभियन्ताको हैसियतले मानव अधिकारको संरक्षण तथा सम्बद्र्धनमा निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै, सर्वाेच्च अदालतबाट सम्मानित भै वरिष्ठ अधिवक्ता जस्तो गरिमामय पदको उपाधि प्राप्त गर्नु भएकोमा सम्मान स्वरूप मानव अधिकार संजालले अधिकारकर्मी समेत रहेका सुनिल कुमार श्रेष्ठलाई सम्मान पत्र प्रदान गरेको अधिकाकर्मी बसन्त गौतमले जानकारी दिए । यसैगरि राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज शाखाको प्रमुखको हैसियतले मानव अधिकारको संरक्षण तथा सम्बद्र्धनमा निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै मानव अधिकार संजाल नेपालगंजले झंकर बहादुर सम्मान पत्र प्रदान गरेको इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिए । एक बर्ष अघि आयोगको नेपालगन्ज कार्यालय प्रमुखको रुपमा आएका झंकर रावलले थाती रहेका द्वन्द्वकालिन मुद्दाको अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । आफु नेपालगन्ज कार्यालय आउनु अघि एक हजार ७० द्वन्द्वकालिन मुद्दा भएकोमा घटाएर ४१२ मा पु¥याएको रावलले बताए ।
नेपालगन्जका अधिकारकर्मी र कानून ब्यवशायीहरु पीडित ओरिएन्टेड भएर काम गरेको भन्दै उनीहरुको कामको प्रशम्सा गरेका छन् । आफ्नो सम्मानमा आयोजित कार्यक्रममा बोल्दै रावलले अन्य क्षेत्रमा भन्दा नेपालगन्जका कानून ब्यवसायीहरुले मानव अधिकार र सार्वजनिक सरोकारका बिषयमा सक्रियताका साथ काम गरेको आफुले पाएको बताए । बिराटनगर, खोटाङ्ग, जुम्ला, धनगढी, जुम्ला समेतका स्थानमा काम गरि आयोगको बाँके कार्यालयमा आएका रावलको काठमाडौ सरुवा भएको छ । यसै बिच आयोगको नेपालगन्जका कार्यालय खुम्चाउने र कार्यालय अन्यत्र सार्ने तयारी भईरहेको भन्दै बाँकेले अधिकारकर्मीले त्यस प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउदै बढी मानव अधिकार उल्लघंनका घटना हुने यस नेपालगन्जका आयोगको आकार सिमित गर्न नहुने अधिकारकर्मीहरुको भनाइ छ ।
ठकुरीलाई संजालको बधाई ः
यसै बिच बाँकेका अधिकारकर्मी समाजसेवा रत्नबाट सम्मानित भएकोमा मानव अधिकार संजालले बधाई ज्ञापन गरेको छ । संबिधान दिवसको सन्दर्भमा नेपाल सरकारबाट समाजसेवा रत्नबाट गैसस महासंघ बाँके शाखाका पूर्व अध्यक्ष,अधिकारकर्मी प्रभातसिंह ठकुरीले सम्मान पाउनु समग्र बाँकेका अधिकारकर्मीको सम्मान भएको भन्दै बधाई तथा शुभकामना ब्यक्त गरेको हो ।
डुडुवामो अवरुद्ध सेवाबारे चासो
डुडुवा गाउँपालिका बजेट र कार्यक्रमविहीन भई सेवा प्रवाहको असर परेको बारेमा बाँकेका अधिकारकर्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संविधान दिवसका सन्दर्भमा आयोजित कार्यक्रमका सहभागी अधिकारकर्मीले राजनैतिक दलहरु बिचको किचलोका कारण नीति तथा कार्यक्रम र बजेट पारित नगरिदा त्यस आम नागरिकको बिकाश र सेवा प्रवाहमा पारेको असर परेको भन्दै तत्काल समस्याको निकाश खोज्न सम्बन्धित राजनैतिक दल र सरोकारवालाई आग्रह गरेका हुन । अन्य स्थानीय तहका नीति तथा कार्यक्रम पारित गरि बिकाश तथा अन्य कार्यक्रम सुचारु गरीसकेको सन्दर्भमा दलिय किचातानीको कारण सिफारिस बाहेक अन्य कार्य रोकिनु दुखत भन्दै यतिका समयसम्म समस्या समाधान नगरिनु गम्भीर चिन्ताको बिषय भएको नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्कीले बताए । नीति तथा कार्यक्रम पारित नगरिदा कर्मचारीहरु तलव खान पाएका छैनन । काम बिहिन जस्तै भएका कर्मचारीहरु दैनिक प्रशासनिक काममा सिमित भएका छन् । गाउँपरिषदबाट नीति तथा कार्यक्रम पास नगरेका कारण गाउँपालिकाको खाता ठप्प छ । खाता कहिले सुचारु हुन्छ ठेगान पनि छैन । दलिय असमझदारीका कारण गाउँसभा तीनपटक असफल भईसकेको छ । गाउँपालिका नै कार्यक्रम र योजनाविहीन बनेको छ ।