मकवानपुर / नेपालमा सन् २०२० मा मानव अधिकार उल्लघन तथा ज्यादतीका घटनाबाट ५ हजार ५ सय ४३ जना पीडित भएका छन् । यसमध्ये २७ प्रतिशत घटना बागमती प्रदेशमा भएको पाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश हेटौंडाले शुक्रबार यो तथ्याङ्क सार्वजनिक गरेको हो । जस अन्तरगत मानव अधिकार उल्लङ्घनका ६ सय ७५ मध्ये महिला ५८ जना रहेका छन् । ज्यादतीका ४ हजार ८ सय ६८ घटनामा ४ हजार २ सय ७१ जना महिला, ५ सय ९५ पुरुष र १ जना तेस्रो लिङ्गि रहेको इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले बताए । सन् २०२० मा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ४ सय ९४ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ । यसैगरी गिरफ्तारका घटनामा १ सय ६८ जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा १२ जना, जातीय विभेदका घटनामा २१ जना, महिला अधिकार उल्लङ्घनका घटनामा ७ सय ४७ जना, यातनाका घटनामा ७ जना, बाल अधिकार उल्लङ्घनका घटनामा ३ सय ७६ जना पीडित भएको अभिलेख राखिएको प्रदेशको प्रलेख अधिकृत गणेश भण्डारीले जानकारी दिए ।
इन्सेकले हरेक वर्ष प्रजातन्त्र दिवसको दिन मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै देशको मानव अधिकारको समग्र अवस्थाबारे रिपोर्ट सार्वजनिक गर्ने गरेको छ । यसै अनुरुप शुक्रबार बागमती प्रदेशका मुख्य न्यायधिवक्त ओमप्रसाद थपलियाबाट नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण गरेको थियो । कार्यक्रममा मुख्य न्यायधिवक्ता थपलियाले मानव अधिकारको अवस्था कुनै पनि हालतमा संकुचित हुन नहुने बताए । इन्सेक बागमती प्रदेशका अनुसार बाल अधिकारका ३ सय ४० वटा, महिला अधिकार ४ सय १९ वटा, जातीय बिभेदको ४ वटा, कुटपिट २३ वटा, हत्या ४८ का वटा घटना भएको तथ्यांक सार्वजनिक भएका छन् । यसैगरी ५ जना नवजात शिशुको हत्या, २ सय ३५ बालिका बलात्कारको शिकार भएको समेत गरि ३ सय ४० वटा घटना बालबालिकामाथी भएको र २ सय १० महिला बलात्कारको सिकार भएको समेत गरि ४ सय १९ वटा घटना महिलामाथी भएको छ ।
कार्यक्रममा मुख्य न्यायधिवक्ता थपलियाले जनचेतना अभिबृद्विमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको बताए । पुस्तकको २९ औं संस्करणमा आईपुग्दा इन्सेकले तथ्यांकको अभिलेखिकरणसँगै संघीय संरचनाका तीन तहको सरकारले गरेको महत्वपूर्ण कामबारे चर्चा गरेको उनले बताए । बालविवाह मुक्त प्रदेशको अभियान चलाईएको बेला स्थानीय तहले भोगेको समस्या चुनौती बारेका तथ्यांक पनि समेट्न उनले सुझाव दिए । “अबको दिनमा घटनाको कारण पनि खोजी गरौ” उनले भने । कार्यक्रममा बागमती प्रदेशबाट सूचना प्रवाहमा सर्वोत्कृष्ट प्रतिनिधि छनौट भएका चितवनको प्रतिनिधि दीपेन्द्र अधिकारीलाई सात हजार नगद सहित सम्मान गरिएको थियो । सम्मानले इन्सेकमा सूचना सम्प्रेषणमा अझै जिम्मेवारी बोध भएको अधिकारीले बताए ।
अधिकारीले आफूले पाएको पुरस्कार बजेट चितवनका राजकुमार चेपाङको परिवारलाई राहत स्वरुप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । २४ बर्षिय चेपाङको २०७६ साउन १ गते चितवन राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको सेनाको कुटपिटको कारण सख्त घाइते भइ २०७६ साउन ७ गते मृत्युु भएको थियो ।जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी, आन्तरिक मामिला मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेललगायतको उपस्थिति रहेको कार्यक्रममा बालकल्याण समाज मकवानपुरका प्रकाश खतिवडा, सेलर्डका सदस्य जगन्नाथ सुवेदी, अधिवक्ता मनप्रसाद भट्टराई, सिविन बाल हेल्पलाइनका झबिन्द्र ज्ञावली, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला जिल्ला सञ्जाल संयोजक आरती पाठक, अधिवक्ता मुकुन्द अधिकारीलगायतले पुस्तकलाई अझै सुधार ल्याउनु पर्ने बताएका थिए । कार्यक्रम इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमको अध्यक्षतामा भएको थियो ।