समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

खुला नजर डटकम । २०८१ भदौ २६ गते
सुर्खेत: पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरिएको छ । बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र  इएलपी परियोजनाद्वारा गठित पन्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा पालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गरिएको हो । बैठकबाट शिक्षामा मुख्य समस्या अन्तरगत  दरबन्दी अनुसार शिक्षककाे समस्या, अपाङ्गमैत्री शौचालयकाे अभाव, विद्यालय स्तरमा खानेपानीको कमी, विषयगत शिक्षकको अभाव, किशोरीहरुलाई मनोपरामर्शको कमी,प्रत्येक स्कुलमा प्राथामिक उपचारको व्यवस्थापन र स्कुलहरुमा स्टेचरको अभाव जस्ता समस्याहरु पहिचान गरिएको छ।
त्यस्तै स्वास्थ्य संस्थामा प्रेसर, सुगर,दम र छाला सम्बन्धी रोग, स्वास्थ्य केन्द्रहरुमा समयभित्र औषधी उपलब्ध नहुनु,स्वास्थ्य केन्द्रमा अपाङ्गमैत्री शौचालय नहुनु र खानेपानीको समस्या, समुदायस्तरमा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु नहुनु र बोतलमा भएको पानीकाे असर, स्वास्थ्यमा अनुगमनको कमी, स्वास्थ्य बीमा बारे अझै पनि नागरिकमा जानकारी नहुनु, बजेटको अभाव र खरिद प्रक्रियामा समस्या जस्ता विषयहरु बैठकबाट पहिचान भएको इन्सेकका फोकल पर्सन ललिता बिकले जानकारी दिइन्।
उनका अनुसार वातावरण संरक्षणमा प्लास्टिकजन्य वस्तुहरूको व्यवस्थापनमा कमी, डम्पिङ्ग साइडको व्यवस्थापन नहुनु, बजार परिसरभित्र डस्टबिनको व्यवस्थापन नहुनु, वृक्षारोपण गरिसकेपछि अनुगमन र संरक्षणको कमी,अनावश्यक डोजरको प्रयाेगबाट पानीको मुहान सुक्दै जानु, भुक्षय हुनु र डढेलो नियन्त्रणका लागिे अग्नी रेखाको व्यवस्थापन नहुनु र सिंचाई कुलाेको पानीमा जथाभावी फोहोर फाल्दा खेतमा परेकाे प्रभाव जस्ता समस्याको पहिचान भएको छ । त्यसैगरी विभेदका सवालमा मुख्य समस्याको रुपमा छाउपडी प्रथाका कारण बालबालिका माथि नै हिंसा हुने, अझै पनि विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यमा विभेद हुने गरेको, महिला हिंसा, घरेलु हिंसा र बालविवाह जस्ता पालिका स्तरमा रहेका विभिन्न शीर्षकमा समस्या पहिचान गरिएको छ । बैठकबाट पहिचान भएका समस्याहरुलाई मानव अधिकार समूहले सम्बन्धित निकायसँग सम्बन्धित समस्याकाे विषयमा जवाफदेहि बनाउन ध्यानाकर्षण गरिने बताइएको छ । बैठकमा मानव अधिकार समूहका पदाधिकारी, सम्बन्धित निकायका शाखा प्रतिनिधित्वहरु, बाल अधिकार समुहक अध्यक्षको सहभागिताबाट समस्या पहिचान गरिएको थियो । इन्सेक सुर्खेत जिल्ला फोकल पर्सन ललिता विकले बैठक सञ्चालनको सहजिकरण गरेकी थिइन्।