सरकारलाई जवाफदेही बनाउन धनगढीमा नागरिक समाजको खबरदारी आन्दोलन

सुदूरपत्र डटकम । २०८१ चैत २८ गते

धनगढी, १८ चैत/‘लोकतन्त्र, मानवअधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गरौं । अराजकता र हिंसालाई निरुत्साहित गरौं’ भन्ने नाराका साथ धनगढीमा वृहत –यालीको आयोजना गरिएको छ । गैर सरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले वृहत –यालीको आयोजना गरेको हो ।

धनगढीको कवर्डहलबाट सुरु भएको वृहत –याली नेपाल राष्ट्र बैक, एल एन चोक हुँदै पार्क मोडमा कोण सभामा परिणत भएको थियो । नागरिक समाज, मानवअधिकारकर्मी, संचारकर्मीको सहभागिता रहेको –यालीमा दण्डहीनता अन्त्य गर, जन आन्दोलनको नाममा हिंसात्मक प्रदर्शन र अराजकता बन्द गर, संविधानको कार्यान्वयन गर, हिंसाका दोषीलाई कारवाही गर, अराजकतालाई नियन्त्रण गर नाराहरु लगाइएको थियो । पार्क चोकमा भएको कोण सभामा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशीले देशका लागि, नागरिक अधिकारका लागि र लोकतन्त्र बचाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

दलित महिला अधिकार मञ्च कैलालीका अध्यक्ष सावित्रा घिमिरेले लोकतन्त्र बचाउनका लागि हिजो पनि लडेको र अब पनि लड्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकार पनि नागरिककै पक्षमा आवाज उठाउने गरेको र नागरिक समाजले पनि नागरिकको आवाज उठाउँदै आएकाले नागरिक समाजले गरेको आन्दोलनमा पत्रकार महासंघको साथ रहने बताएका छन् । गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष देबि खनालले सरकारलाई जवाफदेही बनाउन आन्दोलन जारी रहने बताएका छन् ।