सरोकारवाला भन्छन् : बालिका अधिकारका लागि एकीकृत कानुन चाहिन्छ
मंसिर १७ गते २०७७
बालिका अधिकार संरक्षणका लागि एकीकृत कानुन निर्माण गर्नुपर्नेमा गण्डकी प्रदेशका बालिका अधिकारसम्बन्धी सरोकारवालाले जोड दिएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा पोखरामा आयोजित बालिकाबिरुद्ध हुने लैङ्गिक हिंसा रोकथाम तथा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले बालिकाको विषयवस्तुलाई एउटै कानुनमार्फत सम्बोधन गर्ने प्रयासमा गण्डकी प्रदेश सभा लाग्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समाजमा नागरिकदेखि कार्यकारी प्रमुख सबै इमान्दार भएमा कुनै पनि अधिकारका सवालको लडाईं सहज हुने विचार राखे । प्रदेश सभा सदस्य धनञ्जय दवाडीले समाजको सामाजिकीकरण प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश सभाकै अर्का सांसद मीना गुरुङ्गले बालिका हिंसा नियन्त्रणका लागि विद्यमान कानुन कार्यान्वयन गर्दै बालिकाको क्षमतासमेत बढाउनुपर्ने सुझाव दिइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुषालले बालिका हिंसालाई राज्यका सबै तहको सहकार्यमा रोक्न सकिनेमा जोड दिए । त्यस्तै राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले बालिका अधिकार तथा संरक्षणका लागि राज्यले लगानी र सरोकारवालाहरुले निगरानी बढाउनुपर्ने बताए । गैरसरकारी संस्था महासंघका महासचिव रामप्रसाद सुवेदीले भौतिक पूर्वाधारलाई मात्र विकास बुझ्ने नेपाली मानसिकता नागरिकदेखि राजनैतिक नेतृत्वसम्म भएकैले समतामुलक समाज निर्माण हुन नसकेको गुनासो गरे ।
कार्यक्रममा गण्डकी प्रदेशमा बालिकाको अवस्थाको बारेमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयकी महिला महाशाखा प्रमुख जमुना पौडेल र गण्डकी प्रदेशमा बाल अधिकारको अवस्थाको बारेमा मानव अधिकार आयोग पोखराका अधिकृत खिमलाल सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बालिका अधिकारका लागि काम गरिरहेका विभिन्न सरोकारवाला संघसंस्था तथा निकायहरुको तर्फबाट ५० जनाभन्दा बढी सहभागी थिए । सहभागीहरुले बालिका हिंसा न्यूनीकरण तथा अधिकार संरक्षणका लागि आवश्यक कानुन निर्माण, त्यसको कार्यान्वयन, बजेट वृद्धि, सामाजिक उत्तरदायित्व तथा सबैको पहलकदमीको खाँचो औल्याए । कार्यक्रम गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालको सहकार्य, क्यानालानको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपाल र इन्सेकको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रमको अध्यक्षता जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल तथा सञ्चालन इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले गरेका थिए ।