सल्यानमा बेवारिसे वृद्धको उद्धार

इकान्तिपुर डटकम । २०७८ फागुन २४ गते

सल्यान — शारदा नगरपालिका १ श्रीनगरको शिवमन्दिर नजिकै बेवारिसे अवस्थामा फेला परेका छत्रेश्वरी गाउँपालिका ४ रोक्चा घर भएका ६८ वर्षीय वृद्ध हिरालाल खत्रीको उद्धार भएको छ । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको ईन्सेक लगायत अन्य सरोकारवालाको सहयोगमा खत्रीको उद्धार गरिएको हो । बेवारिसे अवस्थामा फेला परेका खत्रीको स्वास्थ्य अवस्था कमजोर रहेको थियो । उनी बिरामी थिए । उद्धार गरिएका वृद्ध खत्री बिरामी भएको खुल्न आएपछि जिल्ला स्थित सुरक्षित आवास गृहमा राखेर थप उपचारको लागि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ ।

पुर्ख्यौली सम्पत्ति चार भाइमध्ये तीन भाइले सबै आफ्नो नाममा बनाएपछि बस्ने घर, खेतीपाती गर्ने जग्गा, कमाइ गरेर पाल्ने कोही नभएपछि र उपचारको लागि समेत परिवारले बेवास्ता गरेपछि वृद्ध खत्री बेवारिसे अवस्थामा यताउता भौँतारिन बाध्य थिए । स्थानीयले खबर गरेपछि बेवारिसे अवस्थामा फेला परेका वृद्धको उद्धार गरिएको ईन्सेक सल्यानकी प्रमुख मीना बुढाथोकीले बताइन् । उनलाई अहिले उपचारको लागि जिल्ला अस्पताल लगेर भर्ना गरिएको उनले जानकारी गराइन् । उनका अनुसार जिल्ला अस्पताल सल्यानमा नि:शुल्क उपचार गर्न थालेपछि वृद्धको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

घरमा आफू माइला भाइसँग बस्दै आएको, सम्पत्ति केही नभएको र कमाइ गर्न नसक्ने भएपछि सबैबाट हेपिएको खत्रीले बताए । पुर्ख्यौली सम्पत्ति भए पनि आफ्ना चार भाइमध्ये तीन भाइले आफू नभएको मौका छोपी छल गरेर आफ्नो नाममा गराएका उनले बताए । ‘हामी चार भाइमध्ये तीन भाइले विवाह गरेका छन् । दिर्घ रोगी भएकाले मैले विवाह गरिनँ । म माइला भाइसँग बस्दै आएको थिएँ । पहिला सक्दासम्म भारतमा गएर मजदुरी गरी कमाएर ल्याउथेँ । त्यही रकमबाट माइला भाइका परिवारलाई पाल्थेँ,’ उनले भने ‘अहिले कमाइका लागि भारत जान सक्दिनँ । त्यही भएर दाजुभाइले पनि हेर्न छाडेका छन् ।’ आफ्ना दाजुभाइले छल गरेर पुर्ख्यौली सम्पत्ति आफ्नै नाममा बनाएपछि घरबारविहीन बन्नुपरेको खत्रीको गुनासो छ । साथै उनले परिवारबाटै पीडित बनेको भन्दै न्यायका लागि सम्बन्धित निकाय समक्ष आग्रह समेत गरेका छन् ।

Source: https://ekantipur.com/pradesh-6/2022/03/08/164672866578741972.html