सहज रुपमा बीमा रकम भुक्तानी दिन आग्रह

सुर्खेत, १३ मंसिर ।

सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले कोरोना बिमा गरेका संक्रमितहरुलाई सहज रुपमा बिमा रकम भुक्तानी दिनुपर्नेमा जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासंघ र मानव अधिकार समुह वीरेन्द्रनगरले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले यस्तो आग्रह गरेका हुन् । बिमा गरिसकेका कोरोना संक्रमितलाई अनिवार्य रुपमा बीमा रकम भुक्तानी दिनुपर्ने, बिमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले सही सुचना दिनुपर्ने र बिमितहरुसँग सभ्य व्यवहार गर्नुपर्ने अध्यक्ष केसीले उल्लेख गरे । साथै कोरोनाको गलत रिर्पोट पेश गर्ने र रिर्पोट बनाउने सिरफारिस कर्तालाई तत्काल कारवाहीको दायरामा ल्याउनु उनको भनाइ छ ।

कार्यक्रममा सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले कोरोना बिमितहरुलाई बिमा रकम भुक्तानी दिन झन्झटिलो प्रक्रिया भए पनि बिमा कम्पनीहरुले यसलाई सहज बनाउनुपर्ने बताए ।  वीरेन्द्रनगर वडा नम्बर ६ का वडाध्यक्ष मोतिप्रसाद कँडेलले कोरोना बिमितलाई समयमै सहजरुपमा बिमा भुक्तानी गर्न आग्रह गरे । यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले प्रक्रिया झन्झटिलो र जटिलता देखाउदै कोरोना बिमितहरुलाई समयमै बिमा रकम उपलब्ध गराउनबाट बीमा कम्पनीहरु उम्कन नमिल्ने बताए ।

Source: https://www.yugnews.com/2020/11/16494