साडेपानीमा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
कैलाली खबर डटकम । २०८१ पुस २२ गते
सुखड । कैलालीको घोडाघोडी नगरपालिका–२ दशरथ माध्यमिक विद्यालय साडेपानिको हलमा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको सहयोग, घोडाघोडी नगर स्तरीय मानव अधिकार समूहको समन्वय र वाल अधिकार चेतना समूह दशरथ माध्यमिक विद्यालय साडेपानीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगपालिका वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले बदलिँदो परिवेशमा नागरिकहरूले अधिकार सँगसँगै नागरिक कर्तव्य पनि पालना गर्नु पर्ने उनले बताए । जलवायु अनुकूलन विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न, विकास, विनाश पछि बुद्धि आउने विषयलाई कम गर्न, वातावरण मैत्री संरचनामा स्थानीय सरकार एक्लैले प्रयत्न गर्न सम्भव नभएको बताए ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका कृषि प्राविधिक गणेश बहादुर शाहीले विभिन्न उद्योगहरूबाट उत्सर्जन हुने फोहोर मैलाले वातावरणमा नकारात्मक प्रभाव पारिरहेको तथा ध्वनि प्रदूषण भइरहेको उनको भनाई थियो । स्वच्छ वातावरण र वातावरण अधिकारको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम दशरथ माध्यामिक विद्यालयका प्रधानाध्यापक नर बहादुर चौधरी, संरक्षक शिक्षक खगेन्द्र चन्द्र र शिक्षक गणेश बलले शुभकामना मन्तव्य राखेका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय कैलालीका सहजकर्ता वीरेन्द्र शाहले राष्ट्रिय वातावरण नीति २०७६ प्रस्तुत गर्दै नीतिको कार्यान्वयनको अवस्थाका बारेमा सहजीकरण गरेका थिए । वातावरण संरक्षणका लागी सम्पूर्ण सरोकारवालाहरूले आआफ्नो तर्फबाट सहयोग र समन्वय गर्नु पर्ने उनको धारण रहेको थियो ।
स्वच्छ वातावरण निर्माण महत्त्वपूर्ण विषय भएकोले राज्यको तीन वटै निकाय एकजुट भएर लाग्नुपर्ने उनको भनाई थियो । राज्यका निकायहरूबिच समन्वय नहुँदा स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने व्यक्तिको मौलिक अधिकार हनन भइरहेको इन्सेक प्रतिनिधि वीरेन्द्र शाहले बताए ।
दशरथ माध्यमिक विद्यालयमा गठन गरिएको वाल अधिकार चेतना समूहका अध्यक्ष निशा सन्ज्यालको सभाध्यक्ष र वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय कैलालीका सहजकर्ता वीरेन्द्र शाहले गरेका थिए ।