सामूहिक बलात्कार घटनाको अधिकारकर्मीद्वारा अनुगमन

हाम्रोमत डटकम । २०७८ माघ १० गते

विराटनगर । मोरङको सुन्दरहरैंचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगरसहित अधिकारकर्मीको टोलीले सोमबार पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ । सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाकाबारेमा अधिकारकर्मीहरूले कोशी अस्पतालमा पुगेर पीडितको अवस्थाका बारेमा जानकारी लिएका छन् । पीडितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि पीडितको आर्थिक अवस्थालाई मध्यनजर गरी आर्थिक सहयोग गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताए ।

घरेलु कामदारका रूपमा कार्यरत पीडितले तत्काल काम गर्न सक्ने अवस्था नभएकाले आर्थिक सहयोग गरिएको थापाले बताए । पीडितलाई इन्सेकले ५ हजार रुपैयाँ र अन्य संस्थाले गरी १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । पीडितका बाबुले अधिकारकर्मीसँगको भेटमा दोषीलाई कारबाही र आफूहरूले न्याय पाउने पर्ने बताए । पीडितका बाबुले अधिकारकर्मीहरूलाई न्यायका लागि पहल गरीदिन आग्रह गरे । अधिकारकर्मीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारीलाई भेटर पीडितले न्याय पाउनु पर्ने विषयम ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनालाई गम्भीर रूपमा लिईएको बताए । उनले भने, ‘घटना सम्वेदनशील छ । शङ्का आशङ्का गर्नु पर्दैन पीडितले न्याय पाउँछ ।’ सामूहिक बलात्कार घटनाका दुई आरोपी अर्जुन श्रेष्ठ र उनका भाइ सुरज भनिने मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ । एक जना अझै परार छन् । घटनाको इन्सेक, एवीसी नेपाल, साझा सवालका लागि साझा मञ्च (कोकन), ओरेक, माईती नेपाल, आफन्त नेपाल, साना हातहरु, सिविनका प्रतिनिधिहरुले अनुगमन गरेका थिए ।

Source: https://hamromat.com/2022/01/24/40019.html?fbclid=IwAR29ZfRgrDNaBaKxccBOC1tj8A_JUgW2Vfs8xzGG7RwX91V_m7k5OYZUULU