सिटीनेट नेपालको अध्यक्ष विराटनगर महानगरपालिका

कोशी अनलाइन डटकम । २०८० भदौ २२ गते

 स्थानीय  तहहरुकाे सञ्जाल सिटीनेट नेपाल राष्ट्रिय च्याप्टरको अध्यक्षमा विराटनगर महानगरपालिका चुनिएको छ । विराटनगरमा भएको अधिवेशनले विराटनगर महानगरपालिकालाई अध्यक्ष चुनेको हो ।  अधिवेशनबाट १३ सदस्य समिति पनि गठन गरेको छ । नेपाल च्याप्टरको उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपालिका चयन भएका छन् । सदस्यहरूमा पोखरा, भरतपुर, ललितपुर महानगरपालिकासहित जितपुर सिमरा, हेटौँडा उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिका छन् । संस्थागत सदस्यहरूमा भूकम्प प्रविधि समाज नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सदस्य छन् । १६ वटा नगरपालिकाका मेयर तथा उपमेयरहरू सहभागी अधिवेशनले विधान पारित गरेको निवर्तमान अध्यक्ष तथा हेटौडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले जानकारी दिइन् । अधिवेशनले सदस्य पालिकाहरूको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवर्द्धन, फोहोर मैला व्यवस्थापन, दिगो विकास लक्ष्य २०३० र गुणस्तरीय विकास व्यवस्थापन र कार्यान्वयनमा हुने सहकार्यका लागि यो फोरम उपलब्धिमूलक रहने उनले बताइन् । 

स्थानीय विपद् जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको व्यवस्थापनको लागि हेटौँडा उपमहानगरपालिकाले जग्गा प्रदान गर्ने तथा सम्पूर्ण सदस्यहरूको सहकार्यमा कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने निर्णय भएको छ । सिटिनेट अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्याप्टरमा २१ नगरपालिका संस्थागत सदस्यहरू रहेका छन्  । २१ वटा विस्तारित नगरपालिका सदस्यहरू रहेका छन् । जापानमा स्थापित यो संस्थाले  १९ देशमा सञ्जाल बनाएको छ । २०५८ सालमा  सिटीनेटको नेपाल च्याप्टर गठन भएको थियो । नयाँ कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ । 

Source: https://koshionline.com/newsdetails/96394?fbclid=IwAR0jXWmu07DAiRzhxIJyt2mZu96Su2COfeWRRUzKTIOmU24ddhtM1qMcVCQ

Source: https://hamromat.com/2023/09/07/71285.html

Source: https://udghoshdaily.com/?p=31022