कैलाली : सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन, ज्यादती लगायतका एक हजार ८१ घटनामा १ हजार ८८ जना पीडित भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशले तयार पारेको तथ्याकं अनुसार सन २०२४ सालमा १ हजार ८८ जना पीडित बनेका छन् । सो वर्ष मानव अधिकार उल्लघंनका ११ घटनामा एक महिला र १० पुरुष गरी ११ जना तथा ज्यादतीका १ हजार ७० घटनामा १ हजार ५४ जना महिला र ३४ जना पुरुष गरी १ हजार ८८ जना पीडित भएको तथ्याकंमा उल्लेख छ ।
बुधवार एक कार्यक्रमका बिच २०२४ सालको इन्सेक मानव पुस्तक सार्वजनिक कार्यक्रममा सो तथ्याकं सार्वजनिक गरिएको हो । इन्सेकका अनुसार सन २०२३ भन्दा २०२४ मा १ सय २ जना कम पीडित भएका छन् । राज्य पक्षबाट ११ जना, कुटपिट, धारिलो हतियारमा ९ जना, ११ जना घाइते, १ सय ५ जना बाल अधिकार उल्लङ्घन, तिन जना जातीय विभेद, ९ सय ४७ महिला अधिकार उल्लघंनका घटना घटेको इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीले बताए ।
यस्तै २०२४ सालमा १ जनाको कारागारमा मृत्यु, ३ जनामाथि जातीय विभेद, ८ जना माथि कुटपिट यसमा ६ जनामाथि राज्य पक्षबाटै कुटपिट भएको तथ्याकंले देखाएको छ । यस्तै १ जनाको हिरासतमा मृत्यु, ९ जनाको हत्या र ६ जनालाई राज्यले गिरफ्तारी गरी मानव अधिकार उल्लघंनका १०८८ घटना घटेको इन्सेकको तथ्याकंमा उल्लेख छ । इन्सेकले तथ्याकंका लागी मात्रै भन्दा पनि यस्ता मानव अधिकार उल्लघंनका घटना पूर्ण रूपमा रोक्ने गरी काम गरिरहेको बताउँदै संयोजक जोशीले सञ्चारकर्मीले यस्ता मुद्दा महत्वका साथ उठाइदिनुपर्ने बताए ।
Source: https://godawaritimes.com/