सुन्दर हरिजन घटनाबारे मानवअधिकारकर्मीद्वारा अनुगमन

 

इकान्तिपुर डटकम । २०७८ जेठ २० गते

रोल्पा — गत जेठ ४ गते रोल्पा कारागारभित्र शंकास्पद अवस्थामा मृत भेटिएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलका सुन्दर हरिजनको मृत्युबारे अधिकारकर्मीले अनुगमन गरेका छन् । अधिकारकर्मी, स्वतन्त्र कानुन व्यवसायी र पत्रकारको टोलीले रोल्पा कारागार, प्रशासन, प्रहरी र घटनासँग सम्बन्धित पक्षसँग बिहीबार भेट गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का लुम्बिनी प्रदेश संयोजक भोला महतको नेतृत्वमा उक्त टोलीले रोल्पा कारागार, कारागारका कैदी, कारागारका अधिकारी, स्थानीय प्रशासन, प्रहरी अधिकारी लगायतसँग भेटघाट र छलफल गरेको हो । अनुगमनमा जिल्लास्थित पत्रकार तथा अधिवक्ताहरू बसन्त गौतम र झपिन्द्र गौतम सहभागी थिए । उक्त टोलीले रोल्पा कारागारको अनुगमन गर्दै मृतक सुन्दरसँगै बसेका कैदीबन्दीसँग उक्त घटनाबारे सोधपुछ गरेका थियो । कैदीबन्दीहरूले सुन्दरले झुन्डिएर आत्महत्या गरेको स्थान देखाउँदै त्यसबेलाको अवस्थाबारे जानकारी गराएका थिए । रोल्पा कारागारका जेलर विशाल खनालका अनुसार सुन्दरले गत जेठ ४ गते बेलुकी साढे ६ बजे कारागारकै शौचालयभित्र आफ्नै गलबन्दीमा झुन्डिएर आत्महत्या गरेका थिए । ‘घटना हुँदा म यहाँ थिइनँ । कैदीबन्दी र सुरक्षाकर्मीहरूले भनेअनुसार बेलुकीको खाना खाइसकेर उनले झुन्डिएर आत्महत्या गरेका थिए‚’ उनले भने । स्थानीय तहको निर्वाचनमा मतदान अधिकृत भई थबाङ पुगेकाले घटनाबारे तत्कालीन जानकारी नपाइएको उनको भनाइ छ । घटनाबारे कारागार सुरक्षा टोली र कैदीबन्दीसँग बयान लिएको उनले बताए ।

मृतक सुन्दरसँग एउटै कोठामा बसेका कैदीबन्दीहरूले पनि उक्त घटनाबारे पूर्वजानकारी नपाएको बताए । ‘उनले हाँसीहाँसी कुरा गर्थे; मनभित्र मर्ने योजना रहेछ; हामी कसैलाई जानकारी भएन ।’ रोल्पा कारागारका नाइके हरि नेपालीले भने । उनका अनुसार बाँके कारागारबाट रोल्पा ल्याइएपछि उनलाई दुईवटा कोठामा पालैपालो राखिएको थियो । सुन्दरको नाममा यसअघि नै छुटिसकेका सुर्खेतका विजयविक्रम शाहको आनीबानी पनि सामान्य रहेको उनले बताए । सुन्दरले आत्महत्या गरेपछि मात्रै उनले अर्काको कैद भुक्तान गरिदिन रोल्पा कारागारमा बसेको जानकारी सार्वजनिक भएको हो । बाँके कारागारबाट सुन्दर हरिजन र विजयविक्रम शाहलाई २०७७ मंसिर ८ मा एकैसाथ रोल्पा कारागारमा ल्याइएको थियो । रोल्पा कारागार स्रोतका अनुसार दुवैलाई ठाउँसारी गरेर ल्याउँदा रोल्पा कारागारकी जेलर कमला घिमिरे कार्यालयमा थिइनन् भने उनको निर्देशनमा कार्यालय सहयोगीले कैदी र कागजपत्र बुझेका थिए । दुवै कैदीलाई रोल्पासम्म ल्याउन खटिएका सुरक्षाकर्मी र बाँके कारागारका कर्मचारीले परिचय गराएका थिएनन् । जेलर खनाल भन्छन्, ‘उनीहरूलाई यहाँ ल्याउनुअघि नै एकआपसमा परिचय बदल्न भनिएजस्तो भयो । यहाँ आएपछि दुवैले परिचय बदलेका रहेछन् ।’ बाँके कारागारमा सुन्दरमाथि लागेका मुद्दाको फैसला गरेका बाँके जिल्ला अदालतका तत्कालीन न्यायाधीश दिलिपराज पन्त हाल रोल्पामा जिल्ला न्यायाधीश छन् ।

घटनापछि निकै दिन कुरेर शव बुझेका सुन्दरका परिवारले केही दिनअघि मात्रै अन्त्येष्टि गरेका छन् । उनको परिवारले घटनाबारे असन्तुष्टि जनाउँदै जाहेरीसमेत दिएका छन् । रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक थमन जीसीका अनुसार जाहेरीमा विजयविक्रम शाह, रोल्पा र बाँके कारागार तथा ती कार्यालयका तत्कालीन प्रमुखलाई विपक्षी बनाइएको छ । जाहेरीबारे अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए । घटनापछि रोल्पास्थित कारागारका कैदीबन्दी थप त्रसित देखिएका छन् । क्षमताभन्दा बढी कैदीबन्दीले आफ्नै बीचमा रहेको साथीले आत्महत्या गरेको थाहा पाएपछि त्रास फैलिएको हो । हाल कारागारभित्र सजाय भोगिरहेका १० महिलासहित १ सय ३ जना पुरुष छन् । पञ्चायत कालमा निर्माण गरिएको रोल्पा कारागारको क्षमता ५० जनाको मात्रै हो । कारागारमा १५ महिला र ३५ पुरुषलाई राख्न मिल्छ । सुन्दरको मृत्यु हुनुअघि उनको नाममा आफन्तले पैसा पठाउने गरेको रोल्पा कारागारले जनाएको छ । उनले आत्महत्या गर्नु २ दिनअघि गत जेठ २ गते उनका दाइले ५ हजार पठाएका थिए । तर त्यसअघि पैसा पाउने क्रममा सुन्दरले आफ्नो ठूलोबुबाको छोरा विजय शाहले पैसा पठाएको बताउँथे । स्रोतका अनुसार कैदीबन्दीलाई आवश्यक पैसा कारागारका कर्मचारीको नाममा पठाउन लगाउने र उनैले नै बैंकबाट झिकेर सम्बन्धित व्यक्तिलाई बुझाउने चलन लामो समयदेखि चल्दै आएको हो । सुन्दरले पनि आफूलाई पैसा आफन्तले नै पठाउने गरेको भनेर ढाँटेको पत्ता लागेको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले घटनाबारे जानकारी पाएपछि आश्चर्यमा परेको बताए । ‘यस्तो घटना कसरी भयो भन्ने अनुसन्धान भइरहेको छ । सुन्दा पनि अचम्म लाग्ने खालको छ‚’ उनले भने । उनका अनुसार उक्त घटनापछि सुरक्षा अधिकारीको बैठक बसालेर कारागार सुरक्षाबारे चनाखो बन्न विभिन्न योजना बनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको रोल्पा प्रहरी कार्यालयका प्रवक्ता एवं घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक थमन जीसीले घटनाबारे अनुसन्धान गर्न बनेका समितिका पदाधिकारीसँग समन्वय भइरहेको बताए । अधिकारकर्मी भोला महतले कारागार व्यवस्थापनमा राज्यले ध्यान दिन नसक्दा यस्ता घटना दोहोरिएको दाबी गरे । ‘एक वर्षमा सयौं कैदीबन्दीले कारागारभित्रै आत्महत्या गरेका घटना छन् । राज्यले कारागार व्यवस्थापनलाई पूर्ण रुपमा पुनः व्यवस्थापन गर्न आवश्यक छ‚’ उनले भने । उक्त घटनाको अनुगमन गर्न खटिएका अधिवक्ता बसन्त गौतमले कानुन र अधिकारलाई गलत तरिकाले प्रयोग गरेर राज्य संयन्त्रले गरिब र असहायमाथि खेलबाड गरेको बताए ।

‘कानुनलाई छक्याएर निर्धा र असहायमाथि खेडबाड गर्ने कार्य पहिल्यैदेखि चल्दै आएको हो; यो घटना पनि यस्तै खालको हो‚’ उनले भने । अनुसन्धान टोलीको निष्कर्ष छ- सर्वसाधारणमाथि अदालत, न्यायाधीश र घटना अनुसन्धान प्रणालीमाथि अविश्वास हुँदा यस्ता खालका घटना दोहोरिएका छन् । राज्यको संयन्त्रमाथि जनविश्वास घट्दै गएकाले कारागारभित्र डरलाग्दा घटनासमेत हुन पुगेका छन् । राज्यले कारागार व्यवस्थापन र न्याय प्रदान प्रक्रियामाथि पुनर्विचार गर्न नसके झन् जनविश्वास गुमाउने पक्का छ । उक्त घटनाबारे सरकारले दुईवटा बेग्लाबेग्लै छानबिन समिति बनाएको छ । कारागार विभागका निर्देशक झेन्द्रप्रसाद चापागाईंको नेतृत्वमा गठित समितिले प्रतिवेदन बुझाइसकेको छ भने गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा गृहमन्त्रीले बेग्लै समिति गठन गरेका छन् । गठन भएको ७ दिनभित्रमा प्रतिवेदन बुझाउने समयसीमा पाएको उक्त समितिले अनुसन्धान र छानबिन जारी राखेको छ । यसैबीच उक्त घटनाबारे अनुगमन गर्न रोल्पामा राष्ट्रिय मानवअधिकार आयोगको एक टोली आइपुगेको छ । टोलीले स्थानीय प्रशासन, सुरक्षा अधिकारी, कारागार कर्मचारी र सरोकारवालासँग शुक्रबार दिउसो भेट गर्ने तयारी गरेको छ ।

Source: https://ekantipur.com/news/2022/06/03/16542330895535879.html