स्थानिय निर्वाचन समिक्षाः ‘मौन अवधी नै निर्वाचनकालागी सबैभन्दा घातक समयावधि हो’

हिमालय न्यूज हब डटकम । २०७९ जेठ ३१ गते

बाँके । गत बैशाष ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनका विषयमा सरोकारवालाहरुसंग बाँकेमा समिक्षा गरियो । इन्सेक लुम्बिनी प्रदेशको कार्यालय नेपालगन्जको आयोजनामा सोमबार नेपालगन्जमा स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण तथा अनुभव आदानप्रदान कार्यक्रममा सरोकारवालाहरुबीच समिक्षात्मक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा सहभागी विभिन्न दलका नेता तथा जनप्रतिनीधिहरुले मौन अवधी नै निर्वाचनकालागी सबैभन्दा घातक समयावधि भएको बताए । मतदान पूर्वको मौन अवधी सबैभन्दा बढी विवादित र विकृतिपूर्ण भएको भन्दै मौन अवधीमा कुनैपनि प्रचारप्रसार गर्न नपाईने नियम भएतापनि त्यसलाई दिउँसोको समयमा लागू गरेजस्तो गर्दै रातको समयमा झनै प्रचारप्रसारलाई तिव्र र सशक्त बनाउनमा उम्मेद्धारहरु लाग्ने भएको बताउँदै आगामी निर्वाचनहरुमा मौन अवधीका विषयमा गम्भिर भएर लाग्न सम्बद्धहरुले सुझाव दिएका थिए । ‘यो अवधी सबैभन्दा बढी आर्थिक चलखेल र विकृतिका लागि प्रेरित देखियो । जबकी मौन अवधी भरी नै उम्मेद्धारहरुले केवल आराम गर्ने र कुनैपनि प्रचारप्रसारमा सहभागी नहुने नियम रहेको छ तर यस्तो बाँकेमा भएको पाईएन ।’ एक सहभागीले भने ।
राजनीतिक दलका प्रतिनिधिहरुले आगामी निर्वाचनमा मौन अवधी नै राख्न नहुने सुझाव दिए । उक्त कार्यक्रममा कतिपयले मौन अवधीकै समयमा लाखौं लाख रकमको आर्थिक चलखेल भएको समेत खुलासा गरे । सहभागीहरु मध्य कतिले त निर्वाचनका समयमा नेपाल प्रहरीले समेत नेताको मिलेमतोमा निर्वाचनका गोप्य सूचनाहरु समेत पास गरेको पनि खुलासा गरे । मतदाता शिक्षासँगै कर्मचारी खटनपटनमा देखिएका कमजोरी औंल्याउँदै सुधारका लागि अहिलेदेखि नै सचेत हुनुपर्नेमा पनि जोड दिए ।

खजुरा गाउँपालिकाका निवर्तमान प्रमुख समेत रहेका नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने,‘भर्खरै सम्पन्न निर्वाचन प्रणालीबाट निष्पक्ष, भयरहित र सौहार्दपूर्ण निर्वाचन सम्भव छैन’ उनले मतदाता भन्दा पहिले नै कर्मचारीलाई प्रशिक्षण दिन आवश्यक रहेको बताउँदै यस विषयमा सरकारको ध्यानाकर्षण समेत गराए । उनले बाँकेमा मुख्य निर्वाचन अधिकृतको भूमिका निष्पक्ष र प्रभावकारी नरहेको औल्याए ।कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु मात्रै नभई निर्वाचनमा खटिएका कर्मचारीहरु पनि सन्तुष्ट नभएको स्वयम् कर्मचारीहरुले खुलेरै बताए । कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले भने,‘अबका दिनमा यदि यस्तै खालको निर्वाचन प्रणाली नै लागू गर्ने हो भने म नजाने निर्णय लिएको छु ।’ उनले बाँकेमा देखिएको कर्मचारी खटनपटनमा समन्वयको अभाव बताउँदै भने,‘कर्मचारी खटनपटनमा हामीसँग समन्वय गरिएको भए कम्तिमा यो अवस्था आउने थिएन ।’ त्यसैगरी कार्यक्रममा सहभागी जिल्ला निर्वाचन अधिकारी रमा पन्तले निर्वाचनको समय अवधी शुरु हुनुको केही समय अघिमात्र आफु बाँकेमा आएको हुनाले खासै त्यत्ति बाँकेको निवार्चनका विषयमा अनुुभव भन्न नसक्ने बताईन् । उनले निर्वाचन अवधी भर आफुले बटुलेको अनुभवलाई सुनाउने क्रममा कर्मचारी खटनपटनमा सुधार आवश्यक देखिएको सुझाव दिईन् । त्यसैगरी कार्यक्रममा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले मौन भनिएको समय नै सबैभन्दा बढी तनावपूर्ण भएको अनुभव सुनाए ।कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, इन्सेक प्रदेश प्रमुख भोला महत, काँग्रेस जिल्ला सचिव सुधांसु कोइराला, एमाले सचिव रत्न खत्री, राप्रपा नेतृ इन्दिरा शाही, बारका सचिव पदम पाण्डे, अधिकारकर्मी कमला पन्त लगायतले आफ्ना धारणा राखेका थिए ।

Source: https://www.himalayanewshub.com/details/15577