स्थानीय तह निर्वाचन– २०७९ पर्यवेक्षणको इन्सेकले गर्यो समिक्षा
युथ टुडे न्यूज डटकम । २०७९ जेठ ३० गते
बाँके । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा स्थानीय तह निर्वाचन– २०७९, पर्यवेक्षणको अनुभव आदान प्रदान कार्यक्रम जेठ ३० गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले इन्सेकले स्थानीय निर्वाचन ०७९ अनुगमन तथा पर्यवेक्षण गर्दा प्राप्त सकारात्मक पक्ष, निर्वाचनका क्रममा मानव अधिकार तथा आचारसंहिता उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्दै आगामि निर्वाचनमा निर्वाचन आयोग, राजनीतिक दल, पर्यवेक्षक तथा पर्यवेक्षण संस्था र सञ्चार जगतले सुधार गर्नु पर्ने विषयका सन्दर्भमा सुझाव दिनु भएको छ । संयोजक महतले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते विगतका निर्वाचन भन्दा तुलनात्मकरुपमा भयरहित, शान्तिपूर्ण उत्साहजनक वातावरणमा सम्पन्न भएको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपन्द्र केसीले मुख्य निर्वाचन अधिकृत र अन्य निर्वाचन अधिकृतबिच छलफल हुन नसक्दा केही समस्या सृजना भए पनि आगामि निर्वाचनहरूमा यसले पृष्ठपोषण प्रदान गर्ने बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकर रावलले निर्वाचन आयोगले पनि सिमित स्रोत साधनको परिचालन गरी निर्वाचन कार्य सम्पन्न गरेको बताउदै यसको मूल्यांकन गरी आगामि निर्वाचनहरूमा सुधार गर्नु पर्ने पक्षमा विशेष जोड दिनु पर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले निर्वाचनको समयमा केही स्थनीय प्रहरीबाट त्रुटी भए पनि त्यसलाई सच्याउने काम भएको बताउनु भयो । जिल्ला निर्वाचन अधिकारी रमा पन्तले निर्वाचान कार्यालयबाट व्यवस्थापनमा केही कमी भएको भए पनि आगामि दिनमा त्यसलाई सच्याएर अगाडि बढ्ने बताउनु भयो । नेकपा एमालेका अध्यक्ष किस्मतकुमार कक्षपति निर्वाचन स्वच्छ भयरहीत बनाउने हो भने निर्वाचन प्रणाली परिर्बतन गर्नुपर्ने धारणा राख्नु भएको थियो । नेपाली कांग्रेसको सचिव शुधान्सु कोइरालाले निर्वाचनमा अशक्त वृद्धा र बिरामीहरू मतदान प्रक्रियामा सहभागि गराउन स्वन्त्र निकायलाई परिचालन गर्नु पर्ने बताउनु भयो । कोइरालाले मौन अवधिमा बढी आर्थिक चलखेल हुदै आएकोले यसलाई रोक्न सबैले पहल गर्नु पर्ने बताउनु भयो ।
नेकपा एमालेका सचिव रत्न खत्रीले विगतका निर्वाचनमा भन्दा यस निर्वाचनमा मतदाताको सक्रियता बढेको पाइएको बताउनु भयो । अधिकारकर्मी तथा निर्वाचन पर्यवेक्षकको भूमिका निर्वाह गरे अधिवक्ता पदम पाण्डेले कर्मचार खटन पटन र व्यवस्थापनमा ध्यान नदिएको, मतदाता शिक्षा प्रभावकारी नभएको, बालबालिकाहरूको प्रयोग भएको अनुगमनका क्रमा पाइएको बताउनु भयो । उहाँले राजनीतिक दलहरू यस विषयमा सम्वेदनशील हुनु पर्ने बताउनु भयो । यसैगरी अधिकारकर्मी कृष्णमुरारी प्रसाद भट्ट, प्रभात ठकुरी, लगायतके निर्वाचन पर्यवेक्षण, अनुगमनका क्रममा आफूले जानकारी पाएका र देखेका विषयहरू आदान प्रदान गरेका थिए । उनीहरूले निर्वाचन प्रक्रियाका बारेमा सूचनाको प्रभावकारी सम्प्रेषण नभएको, मतदाता शिक्षा कमी रहेको, मतदाता परिचय पत्र वितरणमा समस्या रहेको, क्रम संख्या अनुसार मतदाता नामावली नभएकोलगायतका कमी कमजोरी औल्याएका थिए ।
Source: Volumes/Application/IMAC_I5/2022/PROVINCIAL%20PROGRAM%20IMAGES_207901/LUMBINI%20PROVINCE/207902/Insec%20in%20Media%2030th%20Jestha%20program%20under%20the%20Danida/Insec%20in%20Media%2030th%20Jestha%20program%20under%20the%20Danida/Youthtodaynews.com.htm