‘स्थानीय शासन प्रणालीलाई बालमैत्री बनाउन प्रयासरत छौँ ‘ – अध्यक्ष केसी
सिटीवन टिभि डटकम । पोखरा । २०८० जेठ २ गते
कास्कीको अन्नपुर्ण गाउँपालिकामा आज (मंगलवार) बालमैत्री स्थानीय शासन र भैरहेका प्रयासहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा भएको अन्तक्रिया कार्यक्रममा सामाजिक विकास कार्यालय कास्कीले सहयोग गरेको थियो । प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले कार्यक्रमको उद्घाटन गर्नुभएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिका भित्रका ११ वडाका अध्यक्ष, विभिन्न विद्यालयकका प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , बाल क्लका अध्यक्ष तथा प्रतिनिधि विद्यार्थी, आमा समूहका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष केसीले बालअधिकारको संरक्षण गर्न गाउँपालिका प्रयासरत रहेको बताउनुभयो । साथै उहाँले बालबालिकालाई पालिकाको नीति तथा योजना निर्माणमा सहभागीता गराउन प्रयास गरिरहेको बताउनुभयो ।
अध्यक्ष केसीले बालबालिकाले प्राप्त गर्नुपर्ने सम्पुर्ण अधिकारहरुको कार्यान्वयनमा ल्याउन तथा बालश्रम निर्मुल पार्ने अभियानमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । त्यस्तै गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाईले बालबालिका सम्बन्धी भएका प्रयासहरुको प्रस्तुती गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण बाल अधिकार परिषदको प्रदेश समन्वय अधिकारी बद्री वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटा ,वडाध्यक्ष भरतमान गुरुङ,लगायतले बोल्नुभएको थियो । अन्तरक्रिया पश्चात २०८३ साल भित्र अन्नपूर्ण गाउँपालिलाई बालमैत्री गाउँपलिका घोषणा गरिसक्ने सामुहिक प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ। इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्तमको सञ्चालन सवनम शर्माले गर्नुभएको थियो ।