स्थानीय सरकारले निमार्ण गरेका कानुन र कार्यान्वयनको अवस्थाका बारेमा अन्तरक्रिया

कैलाली खबर डटकम । २०८१ वैशाख २२ गते

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा स्थानीय सरकारले निमार्ण गरेका कानुन र कार्यान्वयनको अवस्थाका बारेमा अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अधिवक्ता पुष्प विक्रम शाहीले नेपालको संविधान, २०७२ ले प्रदेश र स्थानीय तहलाई दिएको अधिकारको सूचिको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । 

त्यही अधिकारमा टेकेर प्रदेश र स्थानीय तहले के कस्ता कानुन बनाउन सक्छन् र कसरी कार्यान्वयन गर्न सक्छन् भन्ने बारेमा जानकारी दिएका थिए । घोडाघोडी नगरपालिकाले हाल सम्म बनाएका ऐन, कानुन तथा निर्देशिकाको बारेमा समेत सहभागीहरूलाई जानकारी गराएका थिए । कार्यक्रममा अधिवक्ता पुष्प विक्रम शाहीले कानुन र कार्यान्वयनको अवस्थाका बारेमा जानकारी दिए पछि खुल्ला छलफल गरिएको थियो ।

खुल्ला छलफलको सहजीकरण अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले गरेका थिए । स्थानीय सरकारले अब नीति तथा कार्यक्रम बनाउँदा मानव अधिकार मैत्री नीति बनाउनु पर्ने र मानव अधिकार राष्ट्रिय कार्य योजना कार्यान्वयन समिति गठन गर्ने पर्ने बताएका थिए । यसले गर्दा राम्रो सबै तिर राम्रो सन्देश जाने उनले बताए । नागरिकहरूको सवालप्रति राज्यलाई उत्तरदायी बनाउनका सबै हाले माले गरेर काम गर्नु पर्ने उनको भनाई थियो ।

घोडाघोडी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लोक बहादुर चन्द्रले अहिले सम्म ८२ वटा ऐन, कानुन तथा निर्देशिका बनाएको बताए । पालिका बनाएर ऐन, कानुनहरू कार्यान्वयन भइरहेको उनको भनाई छ । बनेका केही ऐन, कानुन तथा निर्देशिकाहरू आर्थिक स्रोतको कारणले कार्यान्वयन हुन नसेको बताए । यस्तै घोडाघोडी नगरपालिकाका कानुन इकाई शाखाका प्रमुख हेमकान्त सुबेदीले यस क्षेत्रका आवश्यकता हेरेर र सम्बन्धी निकायलाई बोलाएर छलफल गरी ऐन, कानुन तथा निर्देशिका बनाउने गरेको बताए ।

कार्यक्रममा सहभागी बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, कैलारी गाउँपालिका, गोदावरी नगरपालिकामा र घोडाघोडी नगरपालिकामा गठित मानव अधिकार समूहका प्रतिनिधिहरूले आ–आफ्ना पालिकाले बनाएर ऐन, कानुनको बारेमा जानेका कुरा जानकारी गराएका थिए । सहभागीहरूले कार्यक्रममा आफ्नो मनमा लागेका जिज्ञासाहरू समेत राखेका थिए ।

घोडाघोडी नगरपालिका नगर उप–प्रमुख गुलिया कुमारी चौधरीले अन्तिममा सबैको जिज्ञासाहरूको जबाफ दिनु भएको थियो । घोडाघोडी नगरपालिका विभिन्न ऐन, कानुन तथा निर्देशिकाहरू बनाउँदा यस क्षेत्रको भौगोलिक अवस्था, वर्ग, समुदाय हेरेर काम  गर्ने गरेको उनको भनाई थियो । मानव अधिकार, मौलिक अधिकारका कुराहरूलाई समेटेर आगामी दिनमा अगाडी बढ्ने उनको भनाई  छ । यस कार्यक्रम बाट सिकेका कुराहरू आत्मसात् गर्दे अगाडी बढ्ने उप–प्रमुख गुलिया कुमारी चौधरीको भनाई थियो ।

Source: https://www.kailalikhabar.com/news/11177