हिरासतमा महिला थुनुवा बलात्कारबारे विस्तृत छानबिन गर्न माग

नवीन सञ्चार डटकम । २०८० भदौ २२ गते

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्लाको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालय हिरासतमा रहनुभएकी ३५ वर्षीया महिला थुनुवामाथि कार्यालयका डिएसपी दीपककुमार रायले बलात्कार गरेको भन्ने घटनाबारे विस्तृत छानबिन गर्न अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले माग गरेको छ ।इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन ०८० भदौ २२ गते काठमाडौँमा सार्वजनिक गर्दै इन्सेकले घटनाबारे बिस्तृत रूपमा छानबिन गर्न महिला प्रहरीको उपस्थितिमा बलात्कार भएको भनिएकी थुनुवा महिलासँग बयान लिने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताएको हो । स्थलगत अध्ययनको क्रममा कर्तब्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय, कञ्चनपुरको हिरासतमा रहनुभएकी ३५ वर्षीया महिलाले सोही कार्यालयका डिएसपी दीपककुमार रायले ०७९ चैत ६ गते राती बयानका लागि आफ्नो कार्य कक्षमा बोलाएर दुई पटक बलात्कार गरेको बताउनुभएको थियो । गत वैशाख १२ मा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि गएका बेला उहाँले स्वास्थ्यकर्मीहरूलाई बताउनुभएको थियो ।

प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले प्रहरी हिरासतभित्रै महिला थुनुवा बलात्कृत हुनु गम्भीर प्रकृतिको घटना भएकाले देशभरका सबै प्रहरी कार्यालय अन्तर्गत रहेका महिला थुनुवा कक्षको सुरक्षामा महिला प्रहरी खटाउन समेत माग गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘आफ्नो पद, शक्ति वा अधिकारको प्रयोग गरी कुनै किसिमको दवाव, प्रभाव र प्रलोभनमा पारी यौनजन्य कार्य गर्नु हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलाप इलाका प्रहरी कार्यालय, कञ्चनपुर, सप्तरीका डिएसपी दीपककुमार रायले हिरासतमा रहनुभएकी महिलालाई यौन हिंसा गरेको शङ्का हुने ठाउँ देखिएका छन् । हिरासतमा रहनुभएकी महिलालाई बयानका लागि राती डिएसपीले बोलाएको प्रहरी अधिकार र पीडित महिलाले बताउनुले घटना भएको आशङ्का गर्न सकिन्छ । हिरासतमा दिनभर रहनुभएकी महिलालाई राती बयान लिएबाट घटनामा पीडितले लगाएको आरोपको छानबिन गर्नु प्रहरी र राज्यका जिम्मेवार निकाएको दायित्व हो ।’ इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले घटनाबारे प्रहरी र अन्य निकायले बिस्तृत रुपमा छानबिन गर्नुको साटो दोषीलाई प्रहरी प्रशासनले संरक्षण गर्नुले न्यायलाई शक्तिले प्रभावित गरिरहेको भान भएको बताउनु भयो । अध्यक्ष अर्यालले सुरक्षा निकायभित्रै सुरक्षा घेरामा रहनुभएकी महिलामाथि बलात्कार हुनु जघन्य अपराधमा भएको उल्लेख गर्दै अपराधमा संलग्नलाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन र कारवाही गर्नुपर्ने उल्लेख गर्नुभयो ।

Source: https://naveensanchar.com/2023/09/08/66861/

Source: https://shirishnews.com/2023/09/08/45671/