२० औँ जातीय विभेद दिवस, कानुनी व्यवस्था र वर्तमान अवस्था विषयक अन्तरक्रिया सम्पन्न

कोशी सन्देश डटकम । २०८२ जेठ २२ गते

विराटनगर। २० औँ जातीय विभेद तथा छुवाछूत उन्मूलनको राष्ट्रिय दिवस इन्सेकसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा आज विराटनगरमा मनाइएको छ । इन्सेक कोशी प्रदेश, दलित महिला संघ (फेडो) र रिडेफ नेपालको संयुक्त आयोजनामा आज जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा २० औँ जातीय विभेद तथा छुवाछूत उन्मूलनको राष्ट्रिय दिवस मनाइएको हो ।

कार्यक्रममा सहभागीहरूले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन गर्न कानुन कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका छन् ।
कार्यक्रममा सहभागीहरूले नेपालमा कानुन निर्माण गरिएपनि कार्यान्वयन प्रभावकारी नहुँदा अझै पनि जातीय भेदभाव र छुवाछूतका घटना भइरहेको विषयतमा छलफल गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कोशी प्रदेश कार्यालय, विराटनगरका प्रमुख वीरबहादुर बुढा मगरले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कानुनी व्यवस्था र वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले जातीय भेदभाव र छुवाछूतविरुद्ध पुग्ने जति कानुनी व्यवस्था भएपनि पूर्ण कार्यान्वय नहुन नसकेको बताउनु भयो । जातीय भेदभाव र छुवाछूतका घटना कानुनी दायरामा समेत आउन नसकेको उहाँले बताउनु भयो । उहाँले कोशी प्रदेशमा कानुनी निकाय सम्म पुगेका जातीय विभेदका घटना न्यून भएको बताउनु भयो, तर व्यवहारमा भने दैनिक रूपमा जातीय विभेदका घटना हुने गरेको प्रमुख मगरले बताउनु भयो ।

नेपालमा जातीय विभेद र वर्तमान अवस्था विषय कार्यपत्र प्रस्तुत गर्ने क्रममा प्रमुख मगरले कोशी प्रदेशमा २० प्रतिशत जनसङ्ख्या दलित समुदायको भएपनि दलित समुदायले फितलो कानुन कार्यान्वयनका कारण जातीय विभेदका घटनामा कम उजुरी र कानुनी प्रक्रियामा लागेको पाइएको बताउनु भयो । उहाँले कानुन कार्यान्वयन प्रभावकारी बनाउने, शिक्षा र सामाजिक सुधारलाई बढावा दिन सकेमात्रै जातीय भेदभाव तथा छुवाछूतका घटना न्यूनीकरण गर्न सकिने स्पष्ट पार्नुभयो ।

जिल्ला बार मोरङका अध्यक्ष तथा अधिवक्ता जयन्तकुमार पौडेलले जातीय विभेदका विषयमा उजुरी दिने र सम्पर्कमा नआउने समस्या मोरङमा रहेको बताउनु भयो ।
गैरसरकारी संस्था महासंघ मोरङ, अध्यक्ष विष्णु शर्माले राज्यले जातीय विभेद र छुवाछूत मुक्त भनेर घोषणा गरेको तर, कानुन कार्यान्वयन प्रभावकारी नहुँदा अmभै पनि समस्या रहेको बताउनु भयो । उहाँले जातीय विभेदका घटनालाई कानुनी दायरामा ल्याएर पीडकलाई कारबाही हुने अवस्था सृजना गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी कोपिला चुँडालले जातीय भेदभाव अन्त्यका लागि शिक्षा र चेतना आवश्यक रहेको बताउनु भयो । उहाँले जातीय विभेद र छुवाछूत न्यूनीकरण गर्न स्थानीय सरकार बढी जिम्मेवार बन्नु पर्ने धारणा राख्नु भयो । अन्तरक्रियामा उठेका विषयमा उहाँले जातीय भेदभाव र छुवाछूत सम्बन्धी घटनाका उजुरी न्यून आउने भएका कारणले प्रहरीमा छुट्टै डेक्स राख्न नसकिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जातीय भेदभाव र छुवाछूतलाई अपराधका रुपमा कानुनले व्याख्या गरेपनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जातीय भेदभावका घटना भइरहेको बताउनु भयो । उहाँले संरचनागत र कानुनी रुपमा बलियो भएपनि मनोवृत्तिगत समस्या रहेको बताउनु भयो ।

जातीय विभेद र छुवाछूत दण्डनीय विषय भएकाले कानुनी प्रक्रियामा गए मुद्दामा मिलापत्र नभइ दण्ड नै दिनुपर्ने कोइरालाले स्पष्ट पार्नु भयो ।
दलित महिला संघ (फेडो) मोरङ, अध्यक्ष शर्मिला परियारले कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा तीनै तहका सरकारका प्रतिनिधि, अधिकारकर्मीसँगै विद्यार्थी, अधिवक्ता, पत्रकारको सहभागिता थियो ।

Source: https://koshisandesh.com/2025/06/04/126026/