६ महिनामा ३ सय ९४ जना पीडित

उद्घोष डेली डटकम । २०७८ असार २२ गते

 

विराटनगर : मानवअधिकार उल्लंघनका विभिन्न घटनामा प्रदेश १ मा ३ सय ९४ जना व्यक्तिहरू पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार हत्या, कुटपिट, बलात्कार, यौन दुर्व्यवहार, बेचविखन, वालविवाहलगायतका घटनामा उनीहरू पीडित भएका हुन् । इन्सेकले मंगलबार विराटनगरमा आयोजित प्रदेश १ को मानवअधिकार अवस्था र पत्रकारबीच मिडिया साझेदारी बैठकमा ०७७ पुसदेखि ०७८ असार १६ गतेसम्मको ६ महिनाको मानव अधिकारको अवस्था सार्वजनिक गरेको हो । कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाका प्रतिनिधिहरूले अभिलेख गरेका घटनाका आधारमा गैर राज्य पक्षबाट ३५१ महिला र ३१ पुरूष पीडित भएको बताए । विवरण सार्वजनिक गरिएको छ । त्यसैगरी उक्त अवधिमा राज्यपक्षबाट भएका विभिन्न घटनामा ७ जना पुरूष पीडित भएको जनाइएको छ । त्यस अवधिमा सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता नपाएको, कोरोना महामारीको दोस्रो लहरमा जारी गरिएको निषेधाज्ञामा धेरै मानिसहरूले रोजगारी गुमाएको, निजी विद्यालयमा कार्यरत शिक्षकहरूले पारिश्रमिक नपाएको लगायतका घटनाहरू अभिलेखमा आएको जनाइएको छ ।

त्यसैगरी ६ महिनाको अवधिमा दुईजना पत्रकारले ज्यानको सुरक्षा माग गर्नुपरेको, एक शिक्षकको गोली हानी हत्या भएको, सुनसरीका एक विद्यालयका प्रअलाई जनप्रतिनिधिले हातपात गरेको, मोरङका शिक्षक कुमार पोखरेललाई विद्यालय परिसरमै कुटपिट तथा ड्यूटीमा रहेका प्रहरी राजकुमार माझीमाथि कुटपिट भएको पनि उल्लेख छ । कार्यक्रममा सहभागीहरूले निजी विद्यालयहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क असुल गरेको, बालबालिकाको बेचविखनका घटनाहरू भइरहेको, विभिन्न अपराधका घटनामा संलग्न रहेका व्यक्तिहरू खुलेआम हिंडिरहेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए । इन्सेक प्रदेश कार्यालयका प्रमुख सोमराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्मा, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालयकी निर्देशक नितु गड्तौला, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, मोरङका अध्यक्ष सञ्जीव खनाल लगायतले मानव अधिकार रक्षाका लागि इन्सेकले गरिरहेको कामलाई अझ प्रभावकारी बनाउ“दै लैजान सुझाव दिएका थिए ।

source: https://udghoshdaily.com/?p=16441