डाक्टर केसीको अनशन र यक्ष प्रश्नहरू

चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर गोविन्द केसी अनशन बस्नु भएको आज २७ औँ दिन हो । यो अवधिमा उहाँको स्वास्थ्यमा गम्भीर समस्याहरू देखिन थालेको उहाँको देखभाल गरिरहेका चिकित्सकहरूले बताएका छन् । डा. केसीले उठाएका मागहरू जस्ताको तस्तै पूरा गरिनु पर्ने उहाँको समर्थकहरूको जोडबल र जस्ताको तस्तै पूरा गर्न नसकिने सरकारी धारणाबीच अनशनका दिनहरू लम्बिँदै गएका छन् । सरकारद्वारा सङ्घीय संसद्मा प्रस्तुत चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले २२ बुँदे सुझाव दिएको छ । डाक्टर केसीका मागहरूले निम्नलिखित यक्ष प्रश्नहरू उब्जिएका छन् । 

यक्ष प्रश्नहरू

१) अबको दश वर्षसम्म कुनै पनि संस्थालाई ललितपुर, भक्तपुर र काठमाडौँमा मेडिकल कलेज स्थापनार्थ आशय पत्र प्रदान नगर्ने भनेको २०७२ असारपछि हो वा जुन दिन कानुन बन्छ त्यस बेलादेखि लागु हुने
हो ?

२) एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाइने तर यसअघि दिएकाको हकमा यो कुरा लागु नहुने भनिएकोमा मेडिकल सञ्चालनको सिण्डिकेट कायम हुन्छ कि हुँदैन ?

३) कतै एउटा विश्वविद्यालयले पाँच वटालाई भन्दा सम्बन्धन नदिने भनिएको छ कतै एउटा जिल्लामा एउटा मात्र मेडिकल कलेज हुने भनिएको छ । यस्ता बन्धनले पनि अन्यौल सिर्जना गरेको छ । पाँचभन्दा बढी जिल्ला भएका प्रदेशमा मेडिकल कलेज कसरी विस्तारित हुने भन्ने प्रश्न छ ? (सबैभन्दा कम जिल्ला भएको प्रदेश २ मा नै आठ जिल्ला छन् ।) जब कि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्व विद्यालयबाहेकले अहिलेसम्म मेडिकल कलेजलाई सम्बन्धन दिएका छैनन् । विश्वविद्यालयले आपूm रहेको प्रदेशमा मात्र सम्बन्धन दिन पाउने भनिएकोले ज्ञानलाई भूगोलमा संकुचन हुन जान्छ । साथै कुनै प्रदेशमा बाक्लो आवादीका ठाउँ धेरै छन् तर कुनैमा जनसङ्ख्या कम छ । यस्ता विषयको सम्बोधन जरुरी देखिन्छ । यो विषय आफैँमा विरोधाभास हुँदैन र ?

४) विश्वविद्यालयले मेडिकल कलेजलाई सम्बन्धन भौतिक पूर्वाधार, जनशक्ति जस्ता विषयलाई आधार मान्छ । जबकि यस अघि आशय पत्र पाएका र पूर्वाधार पुगेका मेडिकल कलेजलाई सम्बन्धन नदिन आवाज उठाइएको छ । यो विषयलाई कसरी सम्बोधन गर्ने ?

५) १३ वटा विश्वविद्यालयमध्ये सात वटाले मात्र मेडिकल कलेजलाई सम्बन्धन दिन पाउने व्यवस्था
छ । त्यसमा पनि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले पाँच वटाभन्दा बढीलाई सम्बन्धन दिइसकेको अवस्था छ । अन्यको क्षमता छैन भनिन्छ । यसले माग र आपूर्तिको सन्तुलन बिगार्ने पो हो की ?

६) माथेमा प्रतिवेदनमा हेर्दा अहिले सञ्चालनमा रहेका सीमित सङ्ख्याका मेडिकल कलेजको एकाधिकार धेरै वर्षपछिसम्म रहिरहने स्पष्ट देखिन्छ ।

हामीले यहाँ उठाएका विषयहरूमा गहन छलफल गर्न सके आगामी दिनमा अनशनको श्रृङ्खला अन्त्य हुने अपेक्षा गर्न सकिन्छ ।

सुबोधराज प्याकुरेल

अध्यक्ष