२०७८ वैशाख १ गते

शोक वक्तव्य

 

विगत दुई दशकभन्दा बढी समयदेखि इन्सेक अभियानमा आवद्ध कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका-४ निवासी हाल इन्सेक कपिलवस्तु जिल्ला सहजकर्ताको रुपमा कार्यरत नन्दराम पौडेलको २०७७ चैत ३१ गते साँझ सडक दुर्घटनामा परी मृत्यु भएको खबरले हामीलाई दुःखी बनाएको छ । दुःखको यस घडीमा हामी दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।

१० वर्ष लामो सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारणको जीवन रक्षा तथा मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरणमा उहाँको महत्वपुर्ण योगदान रहेको थियो । सशस्त्र द्वन्द्व तथा प्रतिकार समूहका नाममा विस्थापित भएकाहरूको पुनर्स्थापना, द्वन्द्व पीडितको न्याय तथा स्थानीय शान्ति समितिमार्फत द्वन्द्व रुपान्तरणका सवालमा उहाँले महत्वपूर्ण कार्यहरू गर्नुभएको थियो ।

इन्सेकसँग आवद्ध रहेर द्वन्द्व पीडितको न्याय प्राप्तिको अभियानमा पुर्‍याउनु भएको योगदान तथा समग्र मानव अधिकार संरक्षण तथा सम्बर्द्धनमा गर्नु भएको कार्यको इन्सेकले सदा स्मरण गरिरहनेछ । इन्सेकले आफ्नो एक जना असल र कर्मशील सहयोद्धा मानव अधिकार रक्षक गुमाएको छ भने परिवारले एक जना महत्वपूर्ण सदस्य गुमाएको छ ।

नेपालमा मानिसको मृत्युको प्रमुख कारणहरु मध्ये सडक दुर्घटना पनि रहने गरेको छ । असुरक्षित राजमार्ग, कमजोर अनुगमन प्रणाली तथा सवारी चालकको लापरबाही जस्ता कारणहरुको न्यूनीकरणका लागि भरपर्दो संयन्त्र निर्माणमा हामी सम्बन्धित पक्षको ध्यान आकर्षण गराउँछौँ । यस दुखद् घटनाका दोषीउपर कारवाही सुनिश्चित गर्न इन्सेक नियामक निकायसँग जोडदार माग गर्दछ ।

डा. इन्दिरा श्रेष्ठ

अध्यक्ष