२०७५ साउन ४ गते

 

हाडजोर्नीका चिकित्सक डा. गोविन्द केसीको उपचार कर्णालीमा सम्भव छैन भन्ने जानकारी उनी अनशनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएपछि र आन्दोलनकारीहरूले डाक्टर केसीको जीवन रक्षाको प्रमुख माग राखेपछि सरकारले उनलाई काठमाडौँको शिक्षण अस्पतालमा ल्याउने क्रममा भएको आन्दोलनकारी र प्रहरी झडपप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

सार्वजनिक स्वास्थ्य नागरिकको आधारभूत मानव अधिकार हो जसलाई हाम्रो संविधानले पनि आत्मसात गरेको छ । हामीले लोकतान्त्रिक विधि र प्रक्रियामार्फत नै सार्वजनिक समस्याको समाधान खोज्ने प्रतिबद्धता अनुरूप नै राज्यका अङ्गहरूको गठन गरेका छौँ । चिकित्सा शिक्षालाई व्यवस्थित र मर्यादित पार्न भनी यस अघि गिरी आयोग, माथेमा आयोग र कार्की आयोगको गठन भई उनीहरूले दिएको प्रतिवेदन सरकारसँग छ ।

सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई सम्बन्धित संसदीय समितिमा सरोकारवालाहरूसँगको अर्थपूर्ण संवादमार्फत परिपक्व बनाउन सकिन्छ भन्ने कुरामा हाम्रो पूर्ण विश्वास छ । लोकतन्त्र विधिको शासन हो र त्यसमा जोर जबरजस्तीको कुनै स्थान हुनु हुँदैन । अन्यथा हामीले अराजकताको नजीर मात्र स्थापित गर्ने छौँ र भविष्य अराजकताको दलदलमा फस्ने छ ।

भरपर्दो स्वास्थ्य सेवाका लागि आवश्यक प्रक्रिया र संरचनाको निर्माण हुनु अनिवार्य छ । संविधान, कानून र राज्यका सबै तहको अधिकारलाई सम्मान गर्दै त्यसलाई प्रभावकारी बनाउनु पनि जरुरी छ । र यो मामिलामा चिकित्सकहरू स्वयम्को अनुशासित र प्रतिबद्ध सहभागिताको जरुरत छ ।

केसीलाई काठमाडौँ लग्न नदिने भन्दै जोर जबरजस्तीमा उत्रिएका चिकित्सक र बल प्रयोगमा संलग्न सुरक्षा निकायको कारणले केही व्यक्ति घाइते भएका छन् । एक प्रहरीको हालत चिन्ताजनक अवस्थामा पुर्‍याइएको छ । डा. केसी स्वयम् प्रधानमन्त्रीको विरुद्ध गालीगलौजमा उत्रिनु भएको छ । र चिकित्सकहरू सरकारको रिस सर्वसाधारणमाथि पोख्दै सरकारी अस्पतालको बहिरङ्ग सेवा बन्द गर्न थालेका छन् ।

हामी सरकार र डा. केसीलाई बिना पूर्वाग्रह आ-आफ्ना तर्क औचित्यसहित विधिको शासनको कदर गर्दै कानूनी राज्यको सम्मान हुने गरी जवाफदेही वार्तामा संलग्न हुन आग्रह गर्दछौँ ।

डा. केसीसँग आग्रह गर्दछौँ कि उहाँ सत्याग्रहीका रूपमा चिनिनु भएको छ । र त्यो ओज नै उहाँको बल हो । यसर्थ तपाईंको नाममा स्वास्थ्य सेवालाई अराजक र लथालिङ्ग बनाउने उग्रतालाई नियन्त्रित र अनुशासित बनाउनु उहाँको जिम्मेवारीभित्र पर्दछ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष