निर्वाचन सुरक्षामा ध्यान देऊ

प्रतिनिधि र प्रदेश सभाका लागि हुने दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा देशका विभिन्न भागमा भएका बम विष्फोट तथा उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । घरदैलो कार्यक्रममा सहभागी नेपाली काङ्ग्रेसका नेता गगन थापाको निर्वाचन प्रचारप्रसार टोलीमाथि काठमाडौँमा बम आक्रमण गरिएको छ भने कपिलवस्तु, इलाम, धनुषालगायतका जिल्लामा उम्मेदवारलक्षित बम विष्फोटका घटना भएका छन् ।

नेपाल सरकारले निर्वाचन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा निकाय परिचालन गरेको र निर्भिकतापूर्वक मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेको भए पनि उम्मेदवार र मतदाताको सुरक्षा र प्रत्याभूति हुन नसक्नु अहिलेको प्रमुख सुरक्षा चुनौतीका रूपमा रहेको छ । निर्वाचन प्रक्रिया भयरिहत वातावरणमा सम्पन्न नभए निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठ्छ । निर्वाचन प्रक्रियाको सुरक्षा भनेको उम्मेदवार, मतपेटिका र मतदान केन्द्र तथा मतदाताको सुरक्षा पनि हो । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन सक्यो भने मात्रै लोकतन्त्र बलियो हुन्छ ।

यति धेरै घटनाहरू सार्वजनिक भइरहँदा पनि घटनाको जिम्मेवारी कसैले नलिनु तथा घटनामा संलग्न पक्ष अज्ञात रहनु ठूलो सुरक्षा चुनौती हो । विष्फोटका घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गरिएकाहरूले पनि आफ्नो संलग्नता स्वीकार नगरेको विवरण पनि सार्वजनिक भइरहेका छन् ।

निर्वाचन भयरहित सम्पन्न गर्ने तथा मतदातालाई सुरक्षाको प्रत्याभूति हुने वातावरण मिलाउन र उम्मेदवार केन्द्रित आक्रमणका घटनामा संलग्न रहेका दोषीहरूलाई कानुनको दायरामा ल्याउन नेपाल सरकारसँग माग गर्दछौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष