लक्षित समुदायसम्म सेवा पुर्याउन स्थानीयको माग
रामेछाप । २०७७ फागुन २२ गते
खाँडादेवी गाउँपालिका सर्वसाधारले सकारी सेवा र अनुदानलाई लक्षित समुदायससम्म पुर्याउन माग गरेका छन् । किसानका लागि छुट्याइएका अनुदान कार्यक्रम अझै पनि वास्तविक किसानसम्म नपुगेको उहाँहरूको गुनासो छ । इन्सेकको आयोजनामा ०७७ फागुन २१ गते भएको खाद्य अधिकारसम्बन्धी छलफल कार्यक्रमका सहभागिले सरकारी अनुदान आएको वास्तविक किसानले थाहा नै नपाउने गुनासो गर्नुभयो । सिमित टाठाबाठाले कागज मिलाएर अनुदान लिने तर काम नगर्ने देखिएको उहाँहरूको गुनासो छ । गाउँपालिकाको कृषी शाखाकी अधिकृत अस्मिता चापागाईँ विगतका अनुभवले यो समस्या देखाएको बताउनुभयो । त्यसैले यस वर्षबाट किसान र सरकारको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

खाँडादेवी गाउँपालिका–६ का वडाध्यक्ष पुष्कर कार्कीले अनुदान लिएर काम नगर्नेलाई कालो सूचीमा राखी अन्य सरकारी सेवा लिन रोक लगाउने गरी गाउँपालिका अघि बढ्न लागेको बताउनुभयो । नागरिकबाट आएका सुझावलाई वडा स्तरबाट गर्नसक्ने काम वडामै गर्ने र कतिपय विषय गाउँपालिकाको नीतिगत निर्णयको तहमा लैजाने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीयले विद्यालयमा खेल मैदान सहितको उचित भौतिक पूर्वाधार व्यवस्था गर्नुपर्ने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाइ व्यवस्थित गाउँघर क्लिनिक सञ्चालन गर्नुपर्ने, कृषिका प्राविधिक किसानकोमा पुग्ने व्यवस्था मिलाउनु पर्ने, जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य संस्थासम्म ल्याउने लैजाने व्यवस्था मिलाउनु पर्ने सुझाव दिएका थिए ।
नवराज पथिक
HUMAN RIGHTS NEWS PORTAL






