इन्सेक लगायत संस्थाहरूको समन्वय र सहकार्यमा मास्क बैङ्क स्थापना
सप्तरी । २०७८ असार ११ गते

निषेध आदेश खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि यूकेएडको सहयोगमा इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, भिएसओ, महिला मानव अधिकार रक्षक सञ्जाल, एकल महिला समूह, ग्रिन नेपाल, नेपाल प्रहरी, कल्याण पोष्ट दैनिक र कोरोना सहजिकरण सञ्जाल सप्तरीले असार १० गते मास्क बैङ्कको स्थापना गरेका छन् । मास्क बैङ्क स्थापनाका लागि आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले कोभिड–१९ को महामारीको अवस्था कायमै रहेकाले मास्क बैङ्कको स्थापनाले कोभिड न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भयो ।

जिल्लाभित्रका सबै स्थानीय तहमा मास्क बैङ्क विस्तार गर्न सके थप प्रभावकारी हुने उहाँको भनाइ छ । एकल महिला समूह प्रदेश २ की अध्यक्ष अनिता देवकोटा र सहज परियोजना सप्तरीकी सुष्मा गुप्ताले चेतना र आर्थिक अभावमा मास्क नलगाएर हिँडडुल गर्ने सर्वसाधारणलाई वितरण गर्न मास्क बैङ्क स्थापना गरिएको बताउनु भयो । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नारासहित स्थापना गरिएको मास्क बैङ्क राजविराज नगरपालिकासहित विभिन्न स्थानीय तहमा पालैपालो सञ्चालन गरिने उहाँहरूले जानकारी दिनु भयो ।

स्थानीय प्रशासनले असार ८ गतेदेखि विभिन्न सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्था सुचारु गर्ने, निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने, खाद्यान्न, किराना, स्टेशनरी, निर्माण सामग्रीलगायतका पसल बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खुला राख्ने निर्णय गरेसँगै बजारमा चहलपहल बढेको छ ।

राजविराजस्थित गजेन्द्र चोकमा राखिएको मास्क बैङ्कबाट पहिलो दिन २ सय बढी सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । मास्क बैङ्कमा लैङ्गिक हिंसा विरुद्धका चेतनामूलक जानकारी र कोभिड–१९ को महामारीबाट बच्ने सन्देशमूलक पर्चा पनि वितरण गरिएको छ ।
मनोहरकुमार पोखरेल
HUMAN RIGHTS NEWS PORTAL






