नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
भोजपुर । २०७८ असार २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार २९ गते सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक भोजपुरले सन् २०२१ को ६ महिनाको अवधिमा अभिलेखकरण गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका ४० ओटा घटनामाथि समीक्षा गरिएको छ । महिला तथा बालिका बलात्कारका सात ओटा, बलात्कार प्रयासका तीन ओटा, कुटपिटका आठ ओटा, बहुविवाहका एक ओटा र घरेलु हिंसाका २१ ओटा घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै अरूण गाउँपालिका उपाध्यक्ष विनिता ढकालले महिला तथा बालबालिकामाथिका घटनाहरू न्यूनीकरणका लागि सबैको साझा अभियान आवश्यक रहेको बताउनु भयो । उहाँले महिला र बालबालिका घरपरिवारबाटै असुरक्षित रहुनञ्जेल माहिला तथा बाल अधिकारको रक्षाका लागि चुनौती हुने बताउनु भयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालका कारण यौनजन्य हिंसा र दुर्व्यवहारका घटनाहरू आएपनि उचित कानुन नहुँदा मिलापत्रमा टुङ्गिने बताउँदै त्यसका लागि परिष्कृत कानुनको आवश्यकता रहेको बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले इन्सेकले जिल्ला–जिल्लामा प्रतिनिधिमार्फत मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई अभिलेखीकरण गरेर सूचना प्रशोधन गरी नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्ने भएकाले नेपालमा मानव अधिकार अभियानमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
गणेश विष्ट
HUMAN RIGHTS NEWS PORTAL






