माछापुच्छ्रे गाउँपालिकामा पहिलोपटक मनाईयो मानव अधिकार दिवस
कास्की । २०७९ मङ्सिर २४ गते
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा शनिवार मानव अधिकार दिवस पहिलोपटक मनाईएको छ । १० डिसेम्वर अर्थात विश्व मानव अधिकार दिवसको अवसरमा इन्सेक माछापुच्छ्रे मानव अधिकार समूह तथा माछापुच्छ्रे गाउँपालिका–४ को संयुक्त आयोजनामा “न्याय सम्मान र मर्यादित रोजगार हामी सबैको सरोकार” नारासहित ७४ औँ मानव अधिकार दिवस मनाइएको छ । उक्त कार्यक्रममा कार्यपालिका सदस्य राजु नेपाली, वडा सदस्यहरु अर्जुन अधिकारी, गंगा रानाभाट, मानवअधिकार समूह अध्यक्ष तथा अन्य पदाधिकारीहरू, टोल विकास संयोजकहरु तथा अन्य समाज सेवीहरुको उपस्थिति रहेको थियो । बद्रिथर टोल विकास संस्थाका संयोजक बावुराम अधिकारीले जातजाती, वर्ग, लिङ्ग अनुसार विभेद रहित कार्य हुन सकेमा मानवमैत्री समाज हुने बताउनु भयो । राज्यले प्रदान गरेका अधिकारहरूका बारेमा सूचना घर घरमा पुग्नेगरि यस्ता अभिमुखीकरणका कार्यक्रमहरू गर्नुपर्ने उहाँको भनाई थियो । वडा सदस्य अर्जुन अधिकारीले २०५१ साल देखि इन्सेकले मानव अधिकार शिक्षा पुस्तक निकालेर मानव अधिकारको विषयमा सबैलाई सजग बनाउन थालेको इतिहास बताउँदै काम गर्ने क्रममा आउन सक्ने कठिनाइलाई संयमतापुर्वक समाधान गर्नका लागी सबैजना मिलेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

समाजसेवी जुना क्षेत्रीले गाउँपालिकाले २०८२ सम्ममा वालमैत्री गाउँपालिका बनाउने लक्ष्यलाई सार्थक बनाउनुपर्ने कुरामा जोडदिदैँ गर्भावस्था देखि मृत्युवरण सम्म पाउनुपर्ने अधिकारको सम्मान गर्दै समाजमा हुने विभेदका विरूद्ध आवाज बुलन्द गर्नुपर्ने बताउनु भयो । कार्यपालिका सदस्य राजु नेपालीले मानव अधिकार समूहको सम्पूर्ण गतिविधि तथा कार्यक्रमहरूलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्नसकेमा यसका बारेमा गाउँपालिकाबासी तथा अन्य व्यक्तिहरुले पनि सूचना पाउने कुरा व्यक्त गर्दै प्रविधि मैत्री हुन आग्रह गर्नुभयो । मानव अधिकार समूहका अध्यक्ष डिल्लीराम भण्डारीले मानव अधिकार राजनीतिभन्दा माथिको विषय रहेकाले मानवअधिकारलाई बालक देखि वृद्धसम्म पुर्याउन मानव अधिकार समूहलाई सहयोग गर्न अनुरोध गर्दै सबैको सल्लाह सुझाव अनुसार काम गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका–४ का अध्यक्ष मधुसुदन अधिकारीले छोटो समयमा महत्वपूर्ण विषयमा छलफल गर्ने अवस्था सृजना भएकोमा खुशी व्यक्त गर्नुभयो । वहाँले अधिकारका बारेमा कुरा गरिरहँदा कर्तव्यको पालना गर्नुपर्ने कुरामा जोडदिदैँ बालबालिकाहरूले आफुमाथि भएको हिंसा तथा विभेद व्यक्त गर्न नसक्ने भएकोले परिवार देखि विद्यालयसम्म सहज वातावरण बनाउन समूहले सकारात्मक भूमिका खेलोस भन्ने अपेक्षा रहेको बताउनु भयो ।
मोहन कुमार बिष्ट
HUMAN RIGHTS NEWS PORTAL






