मानव अधिकार समुहद्वारा गाउँपालिकाको ध्यानाकर्षण
कञ्चनपुर । २०७९ फागुन १८ गते
मानव अधिकार समुह, कञ्चनपुरले लालझाडी गाउँपालिकामा फागनु १६ गते ध्यानाकर्षण पत्र बुझाएर गाउँपालिका क्षेत्रमा रहेका मानव अधिकारका सवाल तथा समस्याहरुलाई सम्बोधन गर्न अनुरोध गरेको छ । लालझाडी गाउँपालिकाका प्रवक्ता तथा सामाजिक बिकाश समिति सभापती आशाराम रानामार्फत लालझाडी गाउँंपालिकाका अध्यक्ष निर्मल रानालाई २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको मानव अधिकार समुहका संयोजक सोमनाथ रानाले बताउनु भयो । ध्यानाकर्षण पत्रमा सामुदायिक विद्यालयहरुको गुणस्तर खस्कीदै जानु, विद्यालयहरुमा छात्रामैत्री शौचालय नहुनु, विद्यार्थीको अनुपातमा शिक्षक तथा बिषयगत शिक्षकको अभाब रहेको, अभिभावकहरुलाई विद्यालय तथा बालबालिकाहरुप्रति जिम्मेवारी बोध नभएको, विद्यालय परिसर तथा विद्यालय हाता भित्रै सुर्तिजन्य, मदिराजन्य पदार्थहरु बिक्री बितरण भइरहेको, स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारबाट निःशुल्क वितरण गरीने औषधीहरुको अभाब हुने गरेको, उपलब्ध गराइने औषधी तथा सेवाहरुको बारेमा सर्बसाधारणको जानकारीका लागि सूचना बोर्डको उपलब्धता नभएको, सुत्केरी महिलाहरुले प्राप्त गर्ने बाटोखर्च बाफतको रकम, पोषिलो खाना र न्यानो झोला समयमै उपलब्ध नहुने गरेको, सार्वजनिक स्थानमा खासै जातिय छुवाछुत नरहेता पनी ग्रामीण क्षेत्रमा व्याप्त छुवाछुतलाई न्यूनीकरण गर्न जनचेतना जगाउन आवस्यक रहेको, छोरालाई संस्थागत विद्यालय तथा छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेको, समानकामका लागि समान ज्याला कार्यान्वयन हुन नसकेको, बस्तीहरुकै बीचमा भएका ईटा उद्योग, खाद्य उद्योगहरुले मानव स्वास्थ्यमा नकारात्मक प्रभाब पारिरहेको, जङ्गली जनावरहरुको आक्रमण दिन प्रतिदिन बढिरहेकोले यसको समाधान गर्न आवश्यक रहेको उल्लेख छ ।

लालझाँडी गाउँपालिका स्तरीय मानव अधिकार समुहका संयोजक रानाले ध्यानाकर्षण पत्र बुझाउँदै आफूहरुले पहिचान गरेका समस्याहरु समाधान गर्नका लागि लालझाडी गाउँपालिकाका प्रवक्ता आशाराम रानामार्फत गाउँपालिकाका अध्यक्ष निर्मल रानालाई आग्रह गरिएको बताउनु भयो । उहाँले माग गरिएका सवालहरुको के कती समस्याहरु समाधान भए, के कती समाधान हुन बाँकी छन् भनेर त्रैमासिक रुपमा अद्यावधिक गरिने र सोहो अनुसार अभिलेख राखिने बताउनु भयो । लालझाडी गाउँपालिकाका प्रवक्ता तथा सामाजिक विकाश समिति सभापती आशाराम रानाले ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिकामा रहेका समस्याहरु पहिचान गरेर गाउँपालिकाको ध्यानकर्षण गराएकोमा मानव अधिकार समुहलाई धन्यवाद दिदै समस्याहरु समाधनका लागि अधिकतम प्रयास पहल रहने प्रतिवद्धता जाहेर गर्नु भयो । उहाँले गाउँपालिकाका अध्यक्षलाई समेत ध्यानाकर्षण पत्रका बारेमा जानकारी गराउने र नागरिकका समस्या समाधानका लागि आफूहरु जिम्मेवार रहने बताउनु भयो ।
लिली कुँवर
HUMAN RIGHTS NEWS PORTAL






