बेपत्ताका परिवारलाई न्याय तथा परिपुरण दिलाउन सरकार प्रतिवद्ध: कानुन मन्त्री श्रेष्ठ
सहीखबदर डटकम । २०८० भदौ १३ गते
मकवानपुर । बागमती प्रदेशका कानुन मन्त्री गंगानारायण श्रेष्ठले देशमा भएका विभिन्न राजनितिक आन्दोलनका पीडितहरूलाई न्याय तथा परिपूरण दिलाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । बेपत्ता भएका व्यक्तिहरूको खाजीकार्यमा सरकार गम्भीर रहेको मन्त्री श्रेष्ठले बताए । बल पूर्वक बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा बुधबार मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् । दिवसकाे सन्दर्भमा इन्सेक बागमती प्रदेशले मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएकाे थियाे । ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले द्वन्द्व पीडितहरूको न्याय तथा परिपूरणको लागि सङ्घीय सरकार र प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका थिए । बागमती प्रदेश सरकारले प्रदेशभित्रका बेपत्ता पारिएका व्यक्तिहरूका बारेमा चासो र चिन्ता लिँदैं बेपत्ता पारिएका व्यक्तिहरूका पीडित परिवारलाई सत्य, न्याय र परिपूरणको व्यवस्थाको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको पनि मन्त्री श्रेष्ठले बताए ।
ज्ञापनपत्र बुझाउँदै इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख भण्डारीले द्वन्द्व पीडितको सवाल राजनीतिसँग जोडिएको भए तापनि समाधान गर्न राजनीतिक दल र सरकार स्वयंम् नै अग्रसर नदेखिएको बताए । ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक संसदमा पेश भए पनि पास हुन नसक्दा अझै पीडित परिवार पीडित बन्दै गएको छ’ संयोजक भण्डारीले भने। बल पूर्वक बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा इन्सेक बागमती प्रदेशका संयोजक भण्डारीले इन्सेकद्वारा प्रकाशित “उनीहरु कहाँ छन् ?” पुष्तक पनि मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
HUMAN RIGHTS NEWS PORTAL






