लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन
कञ्चनपुर । २०८० मङ्सिर १९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार समूह, निड्स नेपाललगाायतका संघसंस्थाहरुको संयूक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर १७ र १८ गते सडक नाटक प्रदर्शन गरेका छन् । समाजमा ब्याप्त बालविवाहलाई न्यूनिकरण गर्ने उद्धेश्यले लालझाडी गाउँपालिका–२ कञ्ज स्थित श्री भानु माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १८ गते र लालझाडी गाउँपालिका–१ नैरंगा स्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १७ गते सडक नाटक प्रदर्शन गरेको हो । लालझाडी गाउँपालिका वाडा नम्बर १ को कार्यालयको प्राङ्गणमा सम्पन्न सडक नाटक प्रदर्शन पश्चात लालझाडी गाउँपालिकाको कार्यालय, इन्सेक, मानव अधिकार समुह, निड्स नेपाललगायतका संघसंस्थाहरुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुभकामना आदान प्रदान गरेका थिए ।

बाल अधिकार समुहका सदस्यहरुले बालबालिकाहरुको सानै उमेरमा विवाह गर्दा भोग्नु पर्ने सामाजिक, आर्थिक, शारीरिक तथा व्यक्तित्व बिकासका समस्याहरुको बारेमा डक नाटक मार्फत जनचेतना जगाउने प्रयासगरेका थिए । धर्म र संस्कारका नाममा बालबालिकाहरुको सानै उमेरमा विवाह गर्ने, छोरीहरुलाई विद्यालय पठाएमा देउता रिसाउने, अनिष्ठ हुने जस्ता कुसंस्कारहरु समाजमा ब्याप्त रहेकाले खडक नाटकमार्फत समाजमा सकारात्म सन्देश दिन सहज भएको विद्यालयका प्रधानाध्यापक रोमाकान्त उपाध्यायले बताउनु भयो । लालझाडी गाउँपालिका महिला, बालबालिका तथा सामाजिक बिकास शाखाकी प्रमुख मानमती भट्टले बालबालिकाहरुले प्रस्तुत गरेको जनचेतनामूलक सडक नाटकले समाजको यथार्थ चित्रण गरेको बताउँदै बालबालिकाहरुलाई कानुनी सचेतना गराउनु आवश्यक रहेको बताउनु भयो । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, विद्यार्थी, अभिभावक, मानव अधिकार समूहका सदस्य र स्थानीयहरूको सहभागिता रहेको थियो ।
लिली कुँवर
HUMAN RIGHTS NEWS PORTAL






