नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ । २०८१ पुस १ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङको आयोजनामा मङ्सिर २६ गते ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५’ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

इन्सेक ताप्लेजुङ प्रतिनिधिका अनुसार ६२ मध्ये ४० ओटा घटना महिलासँग, १२ ओटा घटना बालबालिकासँग र १० ओटा घटना नागरिक तथा राजनीतिक अधिकारसँग सम्वन्धित छन् ।

महिला तथा बालिकालाई बलात्कार, बलात्कार प्रयास, घरेलु हिंसाका अभिलेख भएको इन्सेकले जनााएको छ ।

इन्सेकले जिल्ला कारागारमा क्षमता भन्दा करिव ६ गुणा कैदीबन्दी राखिएको घटनालाई समेत मानव अधिकारको सवालबाट चित्रण गरेको छ । कारागार भित्र त्यसको क्षमता अनुसार कैदीबन्दी राखी आधारभूत मानव अधिकारको व्यवस्थापन गर्न इन्सेकले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

समीक्षा कार्यक्रममा इन्सेकले बाल सुधार गृह नहुँदा बाल बिज्याँईमा परेका बालकलाई जिल्ला बाहिर पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न समेत सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

 

हिंसामा परेका महिला तथा बालिकाका लागि पुर्नस्थापना केन्द्र नहुनुको पींडा समेत इन्सेकले आफ्नो प्रतिवेदनमार्फत औंल्याएको छ ।

इन्सेकले पाथीभरा केवलकार निर्माणको पक्ष र बिपक्षमा हुने गरेका विभाजन, झडप तथा असन्तुष्टी समेतमा चासो राखेको छ । केवलकारका बिषयमा समन्वयकारी भूमिका निर्वाह गर्न इन्सेकले केवलकार निर्माण पक्षधर र केवलकार निर्माणको बिरोधमा रहेका दुबै पक्षलाई आग्रह गरेको छ ।

बाढी,पहिरो,आगलागी जस्ता प्राकृतिक विपद्का कारण सृजना हुन सक्ने समस्याप्रति पनि बेलैमा सम्बेदनशील रहन समेत इन्सकेले सम्वन्धित सबै सरोकारवाला पक्षको ध्यान केन्द्रीत गरेको छ ।

समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले मानव अधिकारको सवाल आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्म पुगेकाले इन्सेकले उठाएका विषयमा राज्य सम्वदेनशील भएको र सोही अनुसारका कार्यसम्पादन गर्ने बताउनु भयो ।

जिल्ला न्यायाधीवक्ता महेश खत्रीले इन्सेकले जिल्लामा मानव अधिकारको अवस्थाका साथै नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत देशको मानव अधिकार अवस्था चित्रण गर्ने भएकाले इन्सेकको अभियानमा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख रवि रावल, सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजङाका गुल्मपति नरेश मर्हजनसहित राजनीतिक दलका प्रतिनिधि,नागरिक समाजका अगुवा एवम् सञ्चारकर्मीहरुले मानव अधिकारको विद्यमान अवस्था र मानव अधिकार उल्लङ्घनका घटना रोक्न चाल्नुपर्ने कदमका साथै इन्सेकको योगदानका बारेमा चर्चा गरेका थिए ।

एलिना दियाली